‘निषेधाज्ञामा के गर्न पाइन्छ, के गर्न पाइँदैन ? उल्लंघन गरे कारवाही !’


काठमाडौं । कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामको प्रयास स्वरूप काठमाण्डू, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयहरूले भोलि (बिहीवार) बिहानबाट एक साताका लागि निषेधाज्ञा कार्यान्वयनमा ल्याउँदैछन् ।
सीमावर्ती पर्सा जिल्लाले पनि बिहीवारबाटै एक हप्ते निषेधाज्ञा लागु गर्दैछ भने धेरै संक्रमण देखिएको बाँके जिल्लामा वैशाख १२ गतेदेखि निषेधाज्ञा कार्यान्वयनमा आइसकेको छ ।
देशको प्रमुख पर्यटकीय क्षेत्र पोखरा पर्ने कास्की जिल्लामा वैशाख १५ गते बिहान ६ बजेदेखि वैशाख २१ गते राति १२ बजेसम्म जिल्लाभरि निषेधाज्ञा जारी गरिएको छ ।
जिल्ला प्रशासनहरूको आदेशमा एकअर्काभन्दा केही बुँदाहरू कमबेस भए पनि चेन ब्रेक अर्थात् संक्रमण फैलावट रोक्नु निषेधात्मक कदमको मुख्य उद्देश्य रहेको उल्लेख गरिएको छ ।
काठमाण्डौं, ललितपुर र भक्तपुर जिल्लामा वैशाख १६ गते बिहान ६ बजेबाट सुरू हुने निषेधाज्ञा वैशाख २२ गते राति १२ बजेसम्म कायम रहने आदेशमा उल्लेख छ ।

के गर्न पाइन्छ :

  • व्रतबन्ध तथा विवाह आयोजनाका लागि १५ जनासम्म सहभागी (दुलहा र दुलही पक्षसहित)ले ब्यानरसहित दुई वटासम्म सवारी साधन प्रयोग गरी जिल्लाभित्र वा अन्तरजिल्ला आवतजावत गर्न (पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भए अनुमति लिनुपर्ने)
  • चालकसहित बढीमा सात जनासम्मका लागि स्थानीय तहको सिफारिससहित जिल्ला प्रशासन कार्यालयबाट अनुमति पास लिएर विवाह अथवा व्रतबन्धमा सहभागी भई अन्य जिल्लाबाट फर्कन
  • अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधन, बिरामी तथा बढीमा दुई कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायका सवारीसाधन सञ्चालन गर्न
  • एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दूग्धजन्य पदार्थ, कुरिअर एवम् डाँक सेवा, ब्याङ्क, वित्तीय संस्था, दूरसञ्चार, इन्टरनेट, क्वारन्टीन, आइसोलेशन, फोहोरमैला व्यवस्थापनलगायत ढुवानी तथा यातायतका साधनमा विषय उल्लेख गरी सञ्चालन गर्न
  • सरकारी कार्यालयलगायत सार्वजनिक सेवा प्रदायक संस्थाले सम्बन्धि मन्त्रालय वा विभागबाट जारी पास लिएर सवारीसाधन प्रयोग गर्न
  • विकास निर्माणमा प्रयोग हुने जनशक्ति र सामग्री ढुवानीका साधनको हकमा सबन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसका आधारमा प्रमुख जिल्ला अधिकारीद्वारा जारी हुने पास लिएर सञ्चालन गर्न
  • अस्पताल आउने-जाने बिरामी र कुरुवा, मृत्यु संस्कारमा अनिवार्य रूपमा सहभागी हुनुपर्ने अवस्थाका लागि प्रमुख जिल्ला अधिकारीद्वारा जारी हुने पास लिएर सवारी सञ्चालन गर्न
  • खाद्य सामग्रीका पसल, व्यवसाय बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म
  • डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्ष बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म
  • ब्याङ्क तथा वित्तीय संस्था, बिमा एवम् राष्ट्र ब्याङ्कबाट इजाजत प्राप्त वित्तीय कारोबार गर्ने सहकारी संस्थाका कर्मचारीले प्रयोग गर्ने निजी नम्बर प्लेटका सवारीसाधन सम्बन्धित कार्यालयको परिचयपत्रका आधारमा आवतजावत गर्न
  • सूचना विभागले जारी गरेको प्रेस पासका आधारमा सूचना सङ्कलन तथा सम्प्रेषणका लागि आवतजावत गर्न

के गर्न पाइँदैन :

  • सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनाटर, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जन स्थल, सैलुन, ब्यूटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना सञ्चालन गर्न
  • अत्यावश्यक बाहेकका सार्वजनिक तथा निजी सवारीसाधन चलाउन
  • अत्यावश्यक बाहेकका अन्य सार्वजनिक सेवा सञ्चालन
  • खाद्य सामग्री र औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल, व्यवसायबाहेक अन्य पसल, व्यवसाय सञ्चालन
  • यसअघि रेष्टुराँले टेकअवे सेवा दिन पाउने व्यवस्था भए पनि यसपाली जिल्ला प्रशासन कार्यालयहरूको आदेशमा यो विषयबारे केही उल्लेख गरिएको छैन।

उल्लङ्न गरे के के सजाय ?

जिल्ला प्रशासन कार्यालयहरूले संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ द्वारा प्राप्त अधिकारको प्रयोग गरी निषेधाज्ञासम्बन्धी आदेश जारी गरेका छन् ।
संक्रामक रोग ऐन, २०२० अनुसार उक्त ऐन अन्तर्गत दिइएको आदेशलाई अपहेलना गर्ने व्यक्तिलाई एक महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिवाना अथवा दुवै सजाय हुनसक्छ ।
उक्त ऐनअन्तर्गत अधिकृत व्यक्तिहरूलाई काममा बाधा पुर्‍याउनेलाई ६ महिनासम्म कैद वा ६०० रुपैयाँ जरिवाना अथवा दुवै सजाय हुनसक्छ ।
स्थानीय प्रशासन ऐन, २०२८ अनुसार प्रशासनको आदेश उल्लङ्घन गर्ने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले पाँच सय रुपैयाँसम्म जरिवाना वा एक महिनासम्म कैद अथवा दुवै सजाय गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि