‘कोरोना महामारीमा पनि रेमिटेन्स १६.५ प्रतिशतले बृद्धि’


काठमाडौं । कोरोना भाइरसको महामारीबीच पनि वैदेशिक रोजगारीमा गएका नेपालीले पठाउने रकम रेमिटेन्समा उत्साहजनक वृद्धि देखिएको छ । चालु आर्थिक वर्षको चैतसम्ममा रेमिटेन्स १६.५ प्रतिशतले बढेको तथ्यांक नेपाल राष्ट्र ब्यांकले सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकका अनुसार, चैतसम्ममा रु. ७ खर्ब २९ अर्ब रेमिटेन्स भित्रिएको छ । अमेरिकी डलरमा पनि रेमिटेन्स १३ प्रतिशतले बढी भित्रिएको छ ।
वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा ठूलो गिरावट आए पनि रेमिटेन्स रकममा भने लगातार वृद्धि देखिइरहेको छ । चैतसम्ममा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ६६.७ प्रतिशतले घटेको छ । यो अवधिमा ६४ हजार चार सय ७५ नेपाली मात्र पहिलो पटक वैदेशिक रोजगारीमा जान अनुमति लिएका छन् ।
देशको वैदेशिक व्यापारमा खेपिरहेको ठूलो घाटा पूर्ति गर्न रेमिटेन्सले भरथेग गरिरहेको देखिएको छ । यो वर्षको चैतसम्ममा नेपालले वैदेशिक व्यापारमा रु.१० खर्ब १६ अर्ब ६३ करोड घाटा बेहोरेको छ । जुन अघिल्लो वर्षको यही अवधिका तुलनामा १२.५ प्रतिशत धेरै हो ।
आयात क्रमशः बढ्दै गएपछि नेपालको व्यापार घाटा पनि फेरि बढेको हो। चैतसम्ममा नेपालले रु. ९४ अर्ब ७७ करोडको वस्तु निर्यात गरेको छ भने रु. ११ खर्ब ११ अर्ब ४० करोडको वस्तु आयात गरेको छ ।
आयात बढ्दै गएका कारण नेपालको चालु खाता घाटा रु. २ खर्ब ७ अर्ब पुगेको छ। यो अघिल्लो वर्षको यही अवधिमा रु. १ खर्ब २६ अर्बमा सिमित थियो। यद्यपि, यो अवधिमा शोधनान्तर स्थिति भने ४२ अर्ब ५४ करोडले बचतमा छ ।
रेमिटेन्स भित्रिएकै कारण नेपालको वैदेशिक मुद्राको भण्डार सजिलो अवस्थामा छ । चैतसम्ममा नेपालसँग रु. १४ खर्ब ३३ अर्ब बराबरको वैदेशिक मुद्राको सञ्चिती छ। यो गत असारको तुलनामा २२ प्रतिशत धेरै हो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि