‘माथिल्लो तामाकोशीबाट बिजुलीको परीक्षण उत्पादन आगामी साता सुरु’


काठमाडौं । राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट बिजुली उत्पादनको परीक्षण यसै साताबाट शुरु गरिने भएको छ ।
शनिबार मध्यराति ४८ घण्टाको सुरुङ परीक्षण सकिएको छ । माथिल्लो तामाकोशीको बिजुलीलाई राष्ट्रिय प्रणालीमा जडान गर्नका लागि आइतबारबाट तार तान्ने काम शुरु भएको छ । तार तान्ने काम आगामी बिहीबारभित्र सक्ने लक्ष्य रहेको प्राधिकरणले बताएको छ । त्यसपछि बिजुलीको परीक्षण उत्पादन शुरु हुने माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले जानकारी दिएको छ ।

भदौ महीनापछि पूणर्क्षमतामा बिजुली उत्पादन

माथिल्लो तामाकोशी ४५६ मेगावाट क्षमताको छ । आयोजनाका ६ वटा युनिटहरुमध्ये आगामी साता पहिलो युनिटबाट ७६ मेगावाट बिजुलीको परीक्षण उत्पादन गरिने बताइएको छ । त्यसपछि अर्को युनिटबाट असार महीना पछाडि थप ७६ मेगावाट बिजुली परीक्षण उत्पादन गरिने र भदौ महीनाबाट पूणर् क्षमतामा बिजुली उत्पादन सुरु गरिने बताइएको छ ।
माथिल्लो तामाकोशीबाट उत्पादित बिजुलीलाई नयाँ खिम्ती सबस्टेशनबाट राष्ट्रिय प्रसारणमा जोडिनेछ । यसअघि नयाँ खिम्ती सबस्टेशन निर्माणको टुंगो नलाग्दा तामाकोशी करिडोरबाट आएको बिजुली सीधै ढल्केबर लैजाने गरी खिम्ती सबस्टेशनमार्फत जोडिएको थियो । अब भने खिम्तीको नयाँ सबस्टेशनमार्फत नै तामाकोशीको बिजुली राष्ट्रिय प्रसारणमा जोडिनेछ । तामाकोशी करिडोरका सबै बिजुली नयाँ खिम्ती सबस्टेशनबाटै राष्ट्रिय प्रसारणमा जोडिने छ ।

आइतबारबाट खिम्ती-लामोसाँघु १३२ केभी प्रसारण लाइन बन्द

नेपाल विद्युत् प्राधिकरणले माथिल्लो तामाकोशीको बिजुलीलाई राष्ट्रिय प्रणालीमा जडान गर्नका आइतबार बिहानदेखि खिम्ती-लामोसाँघु १३२ केभी प्रसारण लाइन बन्द गरिएको छ । खिम्ती-लामोसाँघु १३२ केभी प्रसारण लाइन असार १९ गतेसम्म बन्द रहनेछ । यो प्रसारण लाइन बन्द हुँदा ढल्केबरदेखि कोहलपुरसम्मका सबस्टेशनहरुबाट विद्युत् आपूर्ति हुने क्षेत्रका औद्योगिक ग्राहकहरुको विद्युत् कटौती हुनसक्ने प्राधिकरणले जनाएको छ । विद्युत् कटौती हुँदा काठमाडौं उपत्यकाका ग्राहक पनि प्रभावित हुनेछन् । यो परिस्थितिमा कुलेखानी जलाशयको पानी प्रयोग गरी व्यवस्थापन नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि