काभ्रेमा असोज ५ गतेसम्म दिन ‘मिश्रित लकडाउन’


काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले दश दिनका लागि मिश्रित लकडाउन थप्ने निणर्य गरेको छ । कोरोना सङ्क्रमणका कारण यहाँका अस्पतालमा बिरामी भर्ना दर बढेकाले लकडाउनको समय थप गरिएको हो । यसअघि दश दिन थप गरिएको मिश्रित लकडाउन आज राती १२ बजेसम्म रहेकामा जोखिम मूल्याङ्कन बमोजिम जिल्ला पहेँलो जोनमा परेको कारण आजदेखि आगामी असोज ५ गते राती १२ बजेसम्मका लागि थप गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिए ।
उक्त आदेशअनुसार तोकिएको समयसम्म सबै प्रकारका भेला, जुलुस, सभा, सम्मेलन, सिनेमा हल, रेष्टुरेन्ट, क्लब, पार्टी प्यालेस, स्वीमिङ पुल, मनोरञ्जनस्थल, सैलुन, ब्युटीपार्लर र जिमखाना सञ्चालन गर्न नपाइने भएको छ ।
यस्तै हाट, मेला, जात्रा, महोत्सव पाटी र भोज जस्ता भीडभाड हुने कार्य नगर्न प्रशासनले आग्रह गरेको छ । तोकिएका तरकारी बजार बाहेक अन्य सार्वजनिकस्थल र बाटोमा तरकारी तथा फलफूल बिक्री वितरण गर्न नपाइने प्रशासनले जनाएको छ । प्रशासनले गोष्ठी, सेमिनार, समीक्षा जस्ता क्रियाकलाप भर्चुअल माध्यमबाट सञ्चालन गर्न र भौतिक रुपमा उक्त कार्यक्रम सञ्चालन गर्नुपर्ने भएमा अनिवार्य रुपमा स्वास्थ्य मापदण्डको पालना गर्दै बढीमा २५ जना मात्र उपस्थित हुने गरी गर्न प्रशासनले आग्रह गरेको छ ।
प्रशासनले शैक्षिक सङ्घ/संस्था सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा स्थानीय पालिकाको निणर्य अनुसार विद्यालय व्यवस्थापन समिति र अभिभावक सङ्घ समेतको समन्वय र सहकार्यमा निर्धारित स्वास्थ्य मापदण्ड अनिवार्य पालना गरी विद्यालय सञ्चालन गर्न सकिने जनाएको छ । सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन गर्दा कूल सिट क्षमताभन्दा बढी सङ्ख्यामा यात्रु नराख्ने र चालक, सहचालक तथा यात्रुले निर्धारित स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्नुपर्ने जनाएको छ ।
सो समयावधिमा विकास निर्माणका ढुवानी गर्ने सवारीसाधन जिल्लाभित्र खपत हुने सामग्रीको हकमा साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म र जिल्ला बाहिर लैजानेको हकमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म मात्रै सञ्चालन गर्न पाउने जनाएको छ । जिल्लाभित्रका सम्पूणर् पसल बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म मात्रै खोल्न पाउने स्थानीय प्रशासनले निणर्य गरेको छ ।
(रासस)

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि