२१ बैशाख २०८१, शुक्रबार / Fri May 3, 2024

‘बिपी राजमार्ग हुँदै लागूऔषधको शृङ्खलाबद्ध तस्करी’


काभ्रे । बिपी राजमार्ग प्रयोग गरि हुँदै आएको प्रतिबन्धित लागुऔषध तस्करी अझै पनि रोकिएको छैन । पूर्वी–तराई क्षेत्रबाट शृङ्खलाबद्ध रुपमा हुँदै आएको तस्करीका केही घटनामा मात्रै प्रहरी सफल भएको पाइएको छ ।

झापाबाट बिपी राजमार्ग हुँदै काठमाडौँ आउँदै गरेको हायस गाडीमा सप्तरीको सुरुङ्गा नगरपालिका–१० का २२ वर्षीय धर्मेन्द्रकुमार रामलाई ठूलो मात्रामा प्रतिबन्धित लागुऔषधसहित काभ्रेपलाञ्चोकको इलाका प्रहरी कार्यालय मङ्गलटारको प्रहरीले पक्राउ गरेको हो ।

गत बिहीबार दिउसो झापाबाट मध्यपडाहीस्थित बिपी राजमार्ग हुँदै काठमाडौँ आउँदै गरेको हायस गाडीमा सप्तरीको सुरुङ्गा नगरपालिका–१० का २२ वर्षीय धर्मेन्द्रकुमार रामलाई ठूलो मात्रामा प्रतिबन्धित लागुऔषधसहित काभ्रेपलाञ्चोकको इलाका प्रहरी कार्यालय मङ्गलटारको प्रहरीले पक्राउ गर्यो । उनको साथबाट प्रहरीले विभिन्न थरिका ७४५ प्रतिबन्धित लागुऔषधका क्याप्सुल बरामद गरेको थियो । प्रहरीले रामको जिल्ला अदालतबाट म्याद थपी अनुसन्धान भइरहेको जनाएको छ ।

एक महिना अघि अर्थात् गत माघ १२ गते प्रतिबन्धित औषधि ‘नाइट्राभेट–१०’ तथा लागुऔषध इन्जेक्सनसहित दुई जनालाई बिपी राजमार्गस्थित इलाका प्रहरी कार्यालय मङ्गलटारले नै पक्राउ गर्यो । काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–३ का १९ वर्षीय शम्शेर घिसिङ र सुनसरी धरान उपमहानगरपालिका–२ का २७ वर्षीय अजित कामतलाई पूर्वबाट बिपी राजमार्ग हुँदै काठमाडौँ आइरहेको अवस्थामा मङ्गलटारमा सवारी जाँचका क्रममा लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुका साथबाट ‘नाइट्राभेट–१०’ नामक लागुऔषध २८ पत्ता (८४० ट्याब्लेट), डाइजापान इन्जेक्सन १० थान, बुप्रिनोर्फिन १० थान, फोनारागन १० थान बरामद भएको प्रहरीले जनाएको छ । गत वर्ष फागुन दोस्रो साता यता कोरोना भाइरसको सन्त्रासपछि करिब एक वर्ष कुनै लागुऔषध तस्करीका घटना बाहिर आएनन् । घटनाक्रमले गत माघदेखि प्रतिबन्धित लागुऔषध तस्कर पुनः सक्रिय भएको देखाएको छ । यी दुई घटनामा तस्करले लागुऔषध काठमाडौँ लैजान लागेको बयान दिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले प्रतिबन्धित लागुऔषध कारोवारीको निगरानी÷खोजीकार्य तीव्ररूपमा गरिएको बताए । “घटनाले एक वर्षपछि प्रतिबन्धित लागुऔषध कारोवारी पुनः सक्रिय भएको पाइयो, हामी विशेष निगरानीमा छौँ”, उनले भने ।

घटना विवरण अनुसार प्रहरीले गत वर्ष फागुन दोस्रो साता पनौती नगरपालिका–६ स्थित एक घरमा डेरा गरी बस्ने ३२ वर्षीया शुभद्रा तिमल्सिनाको कोठाबाट लुकाइछिपाइ राखेको प्रतिबन्धित औषधि ‘नाइट्राभेट–१०’ २७९ ट्याब्लेट बरामद गरेको थियो । त्यसको केही महिना अघि विराटनगरबाट बिपी राजमार्ग हुँदै बनेपा आउँदै गरेको गाडीमा खानतलासी गर्दा सुनसरी र भारतको कानपुरस्थित युपीका दुई युवालाई लागुऔषध ‘नाइट्राभेट–१०’ ७५० चक्कीसहित पक्राउ गरी लागुऔषध ऐन–२०३३ अनुसार मुद्दा चलाएको थियो ।

सोही हप्ता आसपास इलाका प्रहरी कार्यालय बनेपाले पनि सुराकीकै आधारमा नाइट्राभेट–१० नामक औषधिको १५७ पत्तासहित बनेपा नपाकै विभिन्न स्थानबाट विभिन्न मितिमा १३ युवालाई पक्राउ गरी मुद्दा चलायो । प्रहरीले ती घटनामा सुराकीका भरमा मात्रै जाँच गरी लागुऔषध बरामद तथा ओसापसारकर्ता पक्राउ गरी सार्वजनिक गरेको पाइयो । प्रहरीको प्रतिवेदनमा बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिवास) बाट लागुऔषध ओसारपसार हुने गरेको उल्लेख गरिएको छ । प्रहरीको तथ्याङ्क अनुसार विशेषगरी ‘टिनएजर्स’ यसको तस्करी र प्रयोगकर्ताका रूपमा देखिएको छ । एक वर्षपछि मात्रै लागुऔषध बरामद हुनुले प्रहरीले नियमित सवारी जाँचमा सक्रिय नभएकाले कारोवार फस्टाउँदै गएको आशङ्कासमेत पैदा भएको छ ।

पछिल्ला घटनाले तराईसँग छोटो दूरीका रूपमा रहेको बिपी राजमार्गबाट लागुऔषध भित्रिने गरेको देखिएकाले उक्त राजमार्गमा निगरानी बढाइएको जिल्ला प्रहरी प्रमुख खत्रीले बताए । यसअघि पक्राउ परेकाले भारतका विभिन्न स्थानबाट लागुऔषध सङ्कलन गरी जिल्लाको मुख्य व्यापारिक केन्द्र बनेपा र आसपासका शहर तथा काठमाडौँमा बिक्री गर्दै आएको तथा लागुऔषध विशेषगरी युवापुस्ताले प्रयोग गरेको पाइएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये अधिकांशले ‘ब्रोकर÷क्यारिङ’ बनेर काम गरिरहेको बयान दिएका छन् ।

प्रहरीको अनुसन्धानबाट अवैध लागुऔषध नाइट्राभेट प्रतिचक्की रु एक हजारदेखि एक हजार ५०० सम्ममा बिक्री हुने गरेको खुलेको छ । नाइट्राभेट–१० एक पत्तामा १५ चक्की हुन्छ । छिमेकी देश भारतमा निद्रा नलाग्दा प्रयोग गरिने नाइट्राभेट–१० नेपालमा केही वर्षदेखि प्रतिबन्धित औषधि हो । प्रहरीको तथ्याङ्क अनुसार बितेको पाँच वर्षमा लागुऔषध ओसारपसार सम्बन्धी ३५ मुद्दा दर्ता भएका छन् । ती मुद्दामा ६४ जना पक्राउ परेका छन् ।

(रासस)

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि