३१ बैशाख २०८१, सोमबार / Mon May 13, 2024

नमोबुद्धमा ४० बेडको आइसोलेसन तयार, एकजना बिरामी भर्ना


काभ्रे । नमोबुद्ध नगरपालिका ४ स्थित जनक बहुमुखी क्याम्पसमा ४० बेडको आइसोलेसन केन्द्र तयार भएको छ ।
नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाले संयुक्तरुपमा मेथिनकोट अस्पतालसँगै रहेको क्याम्पस भवनमा आइसोलेसन केन्द्र स्थापना गरेका हुन् । उक्त आइसोलेसन केन्द्रमा हाल एकजना बिरामी राखिएको छ । नमोबुद्ध नगरपालिकाकी ६० बर्षीया कोरोना संक्रमित महिलालाई आइसोलेसनमा राखी उपचार अघि बढाइएको हो । मेथिनकोट अस्पतालमा उपचारको क्रममा गरिएको पिसिआर परिक्षणमा उनमा कोभिड-१९ को संक्रमण पुष्टि भएको थियो । बुधबार संक्रमण पुष्टि भएकी महिलाको अवस्था अहिले सुधारोन्मुख रहेको मेथिनकोट अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. सागर जर्घामगरले जानकारी दिएका छन् ।
नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाबीच सोमबार संयुक्त आइसोलेसन स्थापनाको सहमति भएको थियो । सहमतिअनुसार आइसोलेसनका लागि आवश्यक सबै पूर्वाधारको व्यवस्था गरी सञ्चालनमा ल्याइएको नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले जानकारी दिएका छन् । आज शुक्रबार नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको टोलीले आइसोलेसन केन्द्रको अनुगमनसमेत गरेको छ । दुबै पालिकामा रहेका सीमित जनशक्तिलाई संयुक्त र एकीकृत ढंगबाट परिचालन गर्दै कोभिड-१९ विरुद्धको अभियानलाई प्रभावकारी बनाउन र आइसोलेसनमा बस्नुपर्ने बिरामीको सेवा थप प्रभावकारी बनाउन दुई पालिकाबीच सहमति गरिएको नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए ।
आइसोलेसन केन्द्रमा रहेका सबै बेडमा अक्सिजनसहितको अत्यावश्यक स्वास्थ्यसामग्रीको व्यवस्थापन गरिएको छ भने चौबिसैघण्टा स्वास्थ्यकर्मीले हेरचाह र निगरानी गर्ने व्यवस्था गरिएको छ । आइसोलेसन केन्द्रमा कालीजंग गण धुलिखेलको टोलीले सुरक्षा दिनेछ । आइसोलेसनमा दुबै पालिकाबाट एक एक जना चिकित्सक आलोपालो हुनेगरी खटिनेछन् भने कोभिड १९ का बिरामीको संख्याको आधारमा दुबै पालिकाबाट स्वास्थ्यकर्मी खटाइनेछ ।

(मेचीकालीबाट)

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि