२० असार २०७६, शुक्रबार ०६:१८

सिंहदरबारभित्रै पूर्वसांसदको एनजिओ


काठमाडाैं । जननिर्वाचित संसद्लाई खबरदारी गर्न भन्दै पूर्वसांसदहरूले सिंहदरबारभित्रै गैरसरकारी संस्था (एनजिओ) चलाएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।

कार्यालय स्थापना गर्न सित्तैमा फ्ल्याट उपलब्ध गराइएको एनजिओलाई सरकारले वार्षिक बजेटसमेत दिँदै आएको छ । पिउने पानीदेखि कार्यालयमा आवश्यक फर्निचर र कर्मचारी संसद् सचिवालयले नै व्यवस्था गरिदिएको छ ।

पूर्वसभामुख तारनाथ रानाभाटको पालादेखि ‘पूर्वसांसद मञ्च, नेपाल’ नामक एनजिओ सिंहदरबारभित्रै अड्डा जमाएर बसेकोमा तत्कालीन संविधानसभाका सदस्यहरूले फेरि अर्को एनजिओ सुरु गरेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ‘संविधानसभा सदस्य परिषद्, नेपाल’ नामको एनजिओ दर्ता गरेर संघीय संसद् सचिवालयको भवनमा कार्यालय स्थापना गरेका हुन् ।

तत्कालीन माओवादी केन्द्रको संसदीय दलको कार्यालय रहेको संसद् सचिवालयको भवन नम्बर २ को तेस्रो तलामा परिषद्को बोर्ड झुन्ड्याइएको छ । कार्यालयका लागि हाल तीनवटा कोठा प्राप्त भएको परिषद् संयोजक अनन्तप्रसाद पौडेलले बताए । पूर्वसभामुखसमेत रहेका सत्तारुढ नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ संरक्षक र दोस्रो संविधानसभाकी सभामुख ओनसरी घर्ती सल्लाहकार रहेको परिषद्को सहसंयोजकमा ईश्वरी सुवेदी, महासचिवमा ऋषिकेश पोखरेल, सचिव डोरप्रसाद उपाध्याय र कोषाध्यक्षमा सीता गुरुङ छन् ।

३५ सदस्यीय तदर्थ समिति गठन भएको परिषद्मा संविधानसभा हुँदा संलग्न सबै राजनीतिक दललाई समावेश गरिएको संयोजक पौडेलले बताए । परिषद्ले आगामी ३ साउनमा राष्ट्रिय भेला गर्दै छ । पहिलो र दोस्रो संविधानसभाका कुल एक हजार एक सय नौ सभासद्मध्ये निधन भइसकेका २६ बाहेक सबैलाई भेलामा बोलाइने संयोजक पौडेलले बताए । आजीवन सदस्यताका लागि प्रतिव्यक्ति दुई हजार छुट्याइएको र त्यसैबाट ३ साउनमा हुने राष्ट्रिय भेलालगायतका लागि खर्च गर्ने उनको दाबी छ ।

‘पूर्वसांसद मञ्च, नेपाल’ नामको एनजिओ पनि पूर्वसभामुख तारानाथ रानाभाटको पालामा स्थापना भएको हो । अहिलेसम्म सिंहदरबारभित्रै अड्डा जमाएर बस्दै आएको छ । मञ्चमा पिउने पानीदेखि कार्यालयका फर्निचर, कर्मचारीसमेत संघीय संसद् सचिवालयले उपलब्ध गराउँदै आएको छ । मञ्चलाई सरकारले बर्सेनि बजेट दिँदै आएको छ । आगामी वर्षका लागि मञ्चको नाममा ७० लाख विनियोजन भएको मञ्चकै एक सदस्यले बताए । चालू वर्षमा ५० लाख पाएको थियो ।

संविधानसभा सदस्य परिषद्, नेपालले पनि आगामी वर्षदेखि सरकारसँग बजेट माग्ने संयोजक पौडेलले बताए । ‘यस वर्ष सरकारसँग बजेट माग्न भ्याइएन, अर्को वर्षदेखि माग्छौँ,’ उनले भने, ‘आशा छ पूर्वसांसद मञ्चलाई जस्तै हामीलाई पनि बजेट उपलब्ध हुन्छ ।’ हाल परिषद्को मुद्रणसम्बन्धी सबै काम संघीय संसद् सचिवालयले आफ्नै खर्चमा गरिदिएको छ । विभिन्न छपाइसम्बन्धी काम, लेटरहेडदेखि सदस्यता फारम तयार गरिदिएको सचिवालय स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि