२४ जेष्ठ २०८०, बुधबार / Wed Jun 7, 2023

बैंकमा कोरोना प्रभाव : नयाँ कर्जा माग शुन्य, निक्षेप बढ्दै


मिडिया क्लब नेपाल, काठमाडौं । बैशाख र जेठ महिनालाई कर्जा प्रवाहको लागि मध्यम महिना मानिन्छ । खासगरी असार लागेपछि बैंकहरुले नयाँ कर्जा लगानी गर्न छोड्ने भएकोले पेन्डिङमा रहेका ऋणका फाइलहरु स्वीकृत गर्ने काम पनि यही दुई महिनामा धेरै हुने गर्छ ।

अघिल्ला वर्षहरुमा बैशाख र जेठ महिनामा राम्रो ऋणको प्रवाह भएको तथ्याँक देखिन्छ । अघिल्लो बैशाख र जेठमा मात्रै वाणिज्य बैंकहरुबाट ४८ अर्बको थप कर्जा लगानी भएको थियो । २०७५ सालमा ६१ अर्ब तथा २०७४ सालमा १० अर्ब कर्जा यी दुई महिनामा थप भएको देखिन्छ । तर कोरोनाभाइरसको महामारीसँगै यो वर्ष कर्जाको आकार बढ्नुको सट्टा उल्टो घटेको छ ।
बैशाख र जेठमा आर्थिक गतिविधिहरु ठप्प हुँदा नयाँ कर्जा प्रवाह हुन नसकेको हो । जसका कारण वाणिज्य बैंकहरुको कुल कर्जा लगानी २९ अर्बले घट्न पुगेको छ । चैत मसान्तमा २८ अर्ब ४५ करोड रुपैंया रहेको बैंकहरुको आउस्ट्यान्डिङ कर्जा घटेर जेठ मसान्तमा २८ अर्ब १६ करोडमा सीमित भएको नेपाल बैंकर्स संघले जनाएको छ ।

कर्जा प्रवाह ठप्पप्राय भए पनि बैंकहरुमा निक्षेपको आकार भने बढेको छ । निक्षेप परिचालनका लागि तुलनात्मक रुपमा सहज महिना मानिने यी दुई महिनामा अपेक्षाकृत रुपमै निक्षेपको आकार बढेको हो । सरकारी कोषबाट हुने अनिवार्य दायित्वहरुको भुक्तानी हुने तथा विकास निर्माणका कामहरु पनि हुने भएकोले यी दुई महिनामा निक्षेप बढ्ने गर्छ ।

लगानी हुन नसक्दा बजारमा निष्क्रिय रुपमा रहेको रकम बढ्दै गएपछि बैंकहरुको लागत महँगो पर्दै गएको छ । निक्षेपमा तोकिएको व्याज दिनुपर्ने तर कर्जा प्रवाह शून्य हुन थालेपछि बैंकहरुको कस्ट अफ फण्डमा दबाब पर्न थालेको हो । सोही कारण बैंकहरुले ब्याजदर घटाउने गृहकार्य अघि बढाएका छन् । बैंकहरुले साउन १ गतेदेखि लागु हुनेगरी ब्याजदर घटाउन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि