१० श्रावण २०७७, शनिबार १८:५४

कोरोना महामारी : राजनीतिक दलले जे गर्दा पनि जायज !


दीपक तिमल्सिना

देशमा कोरोनाको माहामारी चलिरहेका बेला काभ्रे जिल्लामा एकपछि अर्काे गर्दै सयौँ कार्यकर्ताको भेला गरेर राजनीतिक कार्यक्रमहरु भएका छन् ।
कोरोना संक्रमण न्युनिकरण गर्नका लागि सरकारले २५ जनाभन्दा बढी भेला हुने कार्यक्रम, सम्मेलन, धार्मिक तथा साँस्कृतिक कार्यक्रमहरु गर्न रोक लगाएको छ । तर काभ्रेमा सत्ता पक्ष र प्रतिपक्षले नै धुमधामका साथ बृहत राजनीतिक कार्यक्रम सम्पन्न गरेका छन् ।

तस्बिर : सामाजिक सञ्जाल

साउन १० गते शनिबार मदन भण्डारी फाउण्डेशन काभ्रेको आयोजनामा बनेपाको होटल उग्रचण्डीको सभा हलमा जिल्ला भेला सम्पन्न भयो । यो कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली प्रमुख अतिथि थिए । एक हजार भन्दा बढी नेता कार्यकर्ता उपस्थित भएको उक्त कार्यक्रममा उपस्थित भएर मन्त्री ज्ञवालीले सरकारको बर्खिलाप भएपनि उपस्थित भएको प्रतिक्रिया दिए ।
केही दिन अघिमात्र बिपी विचार समाजको अयोजनामा काभ्रेकै पनौतीस्थित श्रीराम हलमा प्रतिपक्ष दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजाललाई प्रमुख अतिथी बनाएर करिब पाँच सय नेता कार्यकर्ता सहभागी गराएर कार्यक्रम गरिएको थियो ।

कोरोना माहामारीको सम्भावित जोखिमलाई न्युनिकरण गर्नेतर्फ लाग्नुपर्ने नेता गण बृहत कार्यकर्ता भेलामा मस्त छन् ।

तस्बिर : सामाजिक सञ्जाल

शनिबार बनेपामा भएको कार्यक्रममा परराष्ट्र मन्त्री ज्ञवाली सहित पूर्वमन्त्री गोकुल बाँस्कोटा, पूर्व मन्त्री आनन्द पोखरेल, प्रतिनीधि सभा सदस्य रामहरी सुवेदी, प्रदेश संसदहरु चन्द्र लामा, बसुन्धरा हुमागाई, गोमा भुर्तेल लगायत अन्य नेताको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रम हलमा कार्यकर्ता नअटेपछि हल बाहिरै उभिएर भए पनि स्वाभिमानी कार्यकर्ताले उपस्थिति जनाएका थिए ।

तस्बिर : सामाजिक सञ्जाल

परराष्ट्र मन्त्री ज्ञवालीको यो अभिव्यक्ति चाहिँ आश्चर्य लाग्दो छ – ‘सरकारको निर्णयको बर्खिलाप भएपनि म यसमा सहभागी भएँ ।’ मन्त्रीले माफि माग्न खोजेका हुन या करकापले कार्यक्रममा उपस्थित भए भन्न खोजेका हुन बुझ्न सकिएन ।

कार्यक्रममा स्वास्थ्य सावधानी केही पनि अपनाइएको थिएन, भौतिक दुरी कायम गर्ने कुरा त छँदै थिएन ।

मन्त्रीको अर्काे अभिव्यक्ति थियो – ‘सबैको साथ हुँदा ५ नम्बर गियरमा सरकार चलेको थियो, अहिले चाहिँ ३ नम्बर गियरमा चलेको छ ।’ यसको अर्थ सरकारको गति ४० प्रतिशत घटेको भनेर क्याबिनेट मन्त्रीले नै सार्वजनिक सभामा घोषणा गरे ।

केही दिनअघि प्रधानमन्त्रीको बचाउँमा काठमाडौंको माइती घर मण्डला लगायत देशका विभिन्न स्थानमा भीड जम्मा गरेर प्रधानमन्त्रीका पक्षमा प्रदर्शन गर्न सत्ता पक्ष नै लागेको थियो ।

तस्बिर : सामाजिक सञ्जाल

‘देशमा भ्रष्टाचार र बेथिति मौलायो, नियन्त्रण गर’ भनेर नागरिक आन्दोलन गर्दा कोरोना संक्रमण बढाएको आरोप लगाउने तीनै नेता कार्यकर्ता अहिले हजारौंको भीड जम्मा पारेर राजनीतिक कार्यक्रम गर्दैछन्, ती राजनीतिक नेता कार्यकर्तालाई चाहिँ कोरोना भाइरसले छुट दिन्छु भनेर खबर गरे जस्तो पो गर्छन बा !

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि