जाजरकोटमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चार नयाँ डिपो स्थापना

जाजरकोट । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जाजरकोटमा थप चार वटा डिपो स्थापना गरेको छ ।
खाद्यान्न अभाव हुने ठाउँलाई मध्यनजर गरी डिपो थप गरिएको कम्पनीले जनाएको छ । यो भन्दा पहिले भएका डिपोहरु पायक पर्ने ठाउँमा नहुँदा समस्या परेको गुनासो आएपछि जाजरकोटमा अघिल्लो वर्ष दुई ठाउँ र यो वर्ष चार ठाउँमा नयाँ व्यापार कम्पनीका डिपोहरु थपिएको हो ।
बाढी पहिरोबाट छियाछिया भएको बारेकोटमा नयाँ डिपो स्थापना गरिएको छ । पहिले घाटमा भएको डिपो सबैको पहुँचमा नभएका कारण काउलीमा नयाँ डिपो स्थापना गरिएको छ ।
तत्काल नयाँ डिपोमा २८१ क्विन्टल चामल पठाएको छ । त्यस्तै घरंगा , टापुचौर , रजुतरा यो वर्ष नयाँ डिपो स्थापना भएका छन् । अघिल्लो वर्ष दल्ली र ताँगामा स्थापना गरिएको थियो । सदरमुकााम सहित चौखा, घाट , दशेरा र घोगीमा पुराना डिपो रहेका थिए । अहिले सदरमुकाममा १ हजार ७ सय क्विन्टल, घोगीमा ४०० क्विन्टल र चौखामा ६० क्विन्टल चामल मौज्दात रहेको कम्पनीमा जाजरकोट प्रमुखले जानकारी दिए ।