‘नेकपाभित्र भ्रष्टाचारमा भागबण्डा नमिले पछि विवाद’
बुटवल । तत्कालिन नेकपा एमाले र नेकपा माओवादीको एकता घोषणा गरेको लामो समयसम्म पनि टुंगो लाग्न नसकेको एकता प्रक्रिया एकाएक भंग हुने अवस्थामा पुगेको छ ।
‘सैद्धान्तिक र राजनीतिक नभएर भ्रष्टाचारमा एकलौटी हुँदा नेकपाभित्र विवाद उत्पन्न भएको हो’, यो कुरा शनिबार सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले बताएका हुन् ।
सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले भ्रष्टाचारमा भागबण्डा नमिल्दा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विवाद उत्पन्न भएको आरोप लगाएका छन् ।
शनिबार बुटवलमा पत्रकारहरुसँगको साक्षात्कारमा नेता शाहले भ्रष्टाचार र सत्तारुढ दलभित्रको झगडाले देश बर्वाद हुने स्थितिमा पुगेको बताएका हुन् । शाहले सरकार नै भ्रष्टाचारमा डुबेकाले भ्रष्टाचारीलाई कारबाही नभएको बताएका छन् ।
शाहले यसो भनेका छन् –
सरकारले सबै खरिद प्रक्रियामा भ्रष्टाचार गरेको छ । कोरोना नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री किन्दा भ्रष्टाचार भएको छ, वाइड बडी हवाईजहाज किन्दा भ्रष्टाचार भएको छ, सेक्युरिटी प्रेस किन्न खोज्दा भ्रष्टाचार भएको छ । सार्वजनिक लेखा समितिमा उजुरी परेकाका आधारमा हामीले छानविन गरेपनि कारबाही हुन सकेको छैन ।