दोलखा भीमसेनलाई आयो पसिना, अनिष्टको संकेत

दोलखा । दोलखा जिल्लाको भीमेश्वर मन्दिरमा रहेको शिलामा फेरि पसिना आएको छ ।
शनिबार दिउँसो १२ः१५ बजेदेखि १ः४० सम्म मन्दिरको शिलामा निरन्तर पसिना आएको भीमेश्वर मन्दिर तथा पूजा व्यवस्थापन समितिका उपाध्यक्ष शैलेन्द्र श्रेष्ठले जानकारी दिए । दोलखा भीमसेनलाई पसिना आएपछि देशमा संकट आउने वा अशुभ हुने धार्मिक मान्यता रहेको छ ।
यसअघि पछिल्लो पटक २०७७ मंसिर ९ गते भीमेश्वरको शिलामा पसिना आएको थियो । त्यसअघि २०७६ फागुन ८ गते पसिना आउँदा देशमा कोरोना भाइरसको महामारी सुरु भएको विश्वास गरिन्छ ।
अहिले शिलाको दायाँ-बायाँ दुवै भागबाट पसिना आएको बताइएको छ । दायाँ पट्टीबाट पसिना आउँदा राजकाजमा बसेका र बायाँ पट्टीबाट पसिना आउँदा जनतालाई अनिष्ठ हुने धार्मिक मान्यता रहँदै आएको छ ।
पूजा व्यवस्थापन समितिले आइतबार राष्ट्रपति कार्यालयमा महाप्रसाद पठाइने बताएको छ । त्यसपछि मन्दिरमा क्षमा पूजा गरिने पनि बताइएको छ । राजाको पालामा पसिना आउँदा भने राजदरबारबाट क्षमा पूजाका लागि पञ्चबली पठाउने चलन रहेको थियो ।