३० बैशाख २०७८, बिहीबार १७:३५

‘महामारीप्रति डब्ल्यूएचओ र विश्वव्यापी प्रतिक्रियामा गम्भीर त्रुटि’


छानबिनकर्ताहरूको एउटा स्वतन्त्र समूहले कोभिड-१९ महामारी बेलैमा रोक्न सकिन्थ्यो भन्ने निष्कर्ष निकालेको छ ।
विश्व स्वास्थ्य सङ्गठनले गठन गरेको उक्त छानविन समूहले भनेको छ ः डब्ल्यूएचओ र संसारभरिका सरकारहरूले जसरी संयुक्त प्रतिक्रिया जनाए त्यो ‘दूषित सम्मिश्रण’ को रूपमा रह्यो ।
रिपोर्टमा डब्ल्यूएचओले उसले घोषणा गरेकोभन्दा निकै पहिले नै विश्वव्यापी महामारीको घोषणा गर्नुपर्ने थियो भनिएको छ। अब पनि आवश्यक परिवर्तनहरू नगरिएमा संसार फेरि अर्को ठूलो महामारीको जोखिममा पर्न सक्ने पनि बताइएको छ ।
कोभिडका कारण संसारभरि हालसम्म ३३ लाख जनाभन्दा बढीको ज्यान गइसकेको छ ।
अमेरिका र युरोपमा सरकारहरूले प्रतिबन्धहरू केही खुकुलो पार्दै लग्न थालेका छन् भने उक्त भाइरसले एशियाको ठूलो हिस्सामा विनाशकारी प्रभाव देखाइरहेको छ ।
विशेषगरी भारतमा अभूतपूर्व सङ्ख्यामा नयाँ सङ्क्रमण र कोभिडका कारण मृतकसको सङ्ख्या बढिरहेको छ। अनि देशभरिका अस्पतालमा अक्सिजनको अभाव देखिएको छ ।

त्यसैगरी भारतको छिमेकी नेपालमा पनि चर्को सङ्क्रमण फैलिएको उक्त भाइरसले यसअघि कहिल्यै नदेखिएको जस्तो क्षति र विपद्को अवस्था ल्याइदिएको छ ।
‘कोभिड-१९ः मेक इट द लास्ट प्यान्डेमिक’ अर्थात् कोभिड-१९ लाई अन्तिम विश्वव्यापी महामारी बनाऊ भन्ने शीर्षकको उक्त प्रतिवेदन प्यान्डेमिक प्रीपेअर्ड्नेस एन्ड रेस्पोन्स नामक निकायका लागि एउटा स्वतन्त्र समूहले तयार पारेको हो ।

कोरोनाभाइरसले कसरी ३३ लाखभन्दा बढी मानिसको ज्यान लियो र १५ करोड ९० लाख मानिसमा यसको सङ्क्रमण सर्न पुग्यो भन्ने प्रश्नको उत्तर खोज्नु उक्त प्रतिवेदनको उद्देश्य थियो ।
उक्त समूहकी सहअध्यक्ष तथा लाइबेरियाकी भूतपूर्व राष्ट्रपति एलेन जोनसन सर्लिफले पत्रकारहरूसँग कुरा गर्दै भनिन्, ‘अहिले हामी जुन अवस्थामा छौँ त्यसो हुनबाट निकै पहिले नै जोगाउन सकिन्थ्यो ।’
‘अहिले जे भइरहेको छ त्यो उपयुक्त तयारी र उचित प्रतिक्रिया जनाउनमा भएका अनगिन्ती असफलता, त्रुटि र ढिलाइको परिणाम हो ।’

उक्त स्वतन्त्र समूहले भनेको छ डब्ल्यूएचओको इमर्जेन्सी कमिटीले चीनमा महामारी देखिनेबित्तिकै त्यसबेला गरिएभन्दा एक हप्ताअघि नै अन्तर्राष्ट्रिय महामारीको अवस्थाको घोषणा गर्नुपर्ने थियो ।

प्रतिवेदनमा भनिएको छ,

गत वर्षको २२ ज्यानुअरीको दिनमा बसेको उक्त निकायको पहिलो बैठकले नै त्यस्तो घोषणा गर्नुपर्थ्यो ३० ज्यानुअरीसम्म प्रतीक्षा गर्नुहुँदैन थियो ।
डब्ल्यूएचओले गरेको महामारी घोषणापछिको महिनामा देशहरूले उक्त भाइरसको विस्तारलाई रोक्ने उपयुक्त उपायहरू लिन असफल भएपछि त्यो समय खेर गएको थियो ।
त्यसपछि डब्ल्यूएचओको कदमहरू यात्रामाथिको प्रतिबन्ध अन्तिम उपायका रूपमा मात्रै लागु गरिनुपर्छ भन्ने उसका आफ्नै नियमहरूका कारण अवरुद्ध हुन पुगेका थिए ।
उक्त स्वतन्त्र समूहले भनेको छ युरोप र अमेरिकाले आफ्ना अस्पतालहरू भरिन थालेपछि मात्रै सक्रियता देखाएर सिङ्गो फेब्रुअरी महिना खेर फालेको देखियो ।
त्यसैगरी देशहरूले महामारीलाई ध्यानमा राखेर आआफ्ना स्वास्थ्य सेवा प्रणालीहरूलाई कोभिड विरामीको उच्च सङ्ख्याका निम्ति तयार पार्नुको साटो कस्ले सबैभन्दा पहिला र सबैभन्दा धेरै सुरक्षात्मक पोसाक, उपकरण र औषधि भेला पार्न सक्छ भन्ने दौडमा लाग्न पुगेको पनि प्रतिवेदनको ठहर छ ।
अर्को विनाशकारी महामारीबाट जोगिनका निम्ति गर्नुपर्ने महत्वपूणर् सुधारकालागि पनि उक्त समूहले सुझाव दिएको छ ।

एउटा नयाँ विश्वव्यापी खतरा परिषद्को स्थापना हुनुपर्छ जससँग देशहरूलाई उत्तरदायी बनाउने अधिकार पनि हुनुपर्छ ।
सम्बन्धित देशको अनुमतिबिना नै महामारीसँग सम्बन्धित सूचना तथा जानकारीहरू सार्वजनिक गर्ने रोग निगरानी तथा अनुगमन प्रणालीको स्थापना
खोपहरूलाई सार्वजनिक सम्पत्ति भनेर तोकिनुपर्छ र महामारीमा खर्च जुटाउने प्रावधान बनाइनु पर्छ

(बिबिसी)

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि