२६ जेष्ठ २०७८, बुधबार १५:४२

‘सरकारले लगाएको चर्को करका कारण पेट्रोलियम पदार्थको मूल्य निरन्तर वृद्धि’


काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर उकालो लागिरहेको छ ।
नेपाल आयल निगमले १५-१५ दिनको अन्तरालमा गर्ने मूल्य समायोजनमा एकाध पटक मूल्य घटाइए पनि धेरै पटक भने बढाइएको तथ्यांक छ ।
गत वर्ष चैत १९ गते नेपाल आयल निगमको केन्द्रीय कार्यालयले पेट्रोलको मूल्य ९६ रुपैयाँ प्रतिलिटर तोकेको थियो । त्यस बेला डीजेल र मट्टितेल दुवैको प्रतिलिटर मूल्य ८५ रुपैयाँ थियो ।
गएको शनिवार गरिएको पछिल्लो मूल्य वृद्धिपश्चात् अहिले काठमाण्डूमा एक लिटर पेट्रोलको मूल्य १२५ रुपैयाँ पुगेको छ । त्यस्तै डीजेलको र मट्टितेलको मूल्य प्रतिलिटर १०८ रुपैयाँ कायम गरिएको छ ।
पेट्रोलियम कारोबार गर्ने एक मात्र सरकारी निकाय नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको र त्यसैअनुसार भारतमा तोकिएको मूल्य बढेकाले नेपालमा पनि मूल्य उकालो लाग्ने क्रममा रहेको जनाएको छ ।
कोरोनाभाइरस महामारी सुरु हुँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १९ देखि २० अमेरिकी डलर प्रतिब्यारलको हाराहारीमा झरेको थियो । विश्वव्यापी रूपमै लकडाउनका कारण सर्वसाधारणहरू घरभित्रै बस्न बाध्य भएपछि तेलको माग निकै कम भएको बताइएको थियो ।
त्यस बेला नेपाल आयल निगमले पनि प्रतिलिटर १० रुपैयाँ मूल्य घटाएको निगमका प्रवक्ता विनीतमणि उपाध्याय बताए ।
नेपालमा पेट्रोलियम पदार्थमा चर्को कर लगाइएको छ । पछिल्लो पटक निगमले ६२ रुपैयाँ ४१ पैसामा एक लिटर पेट्रोल खरिद गर्दा ५६ रुपैयाँ ३६ पैसा कर थप हुन्छ । त्यसमा निगमकै प्रशासनिक खर्च ६८ पैसा मात्रै हुन आउने निगमका एक अधिकारीले बताए ।
त्यसबाहेक राजस्व, भन्सार, मूल्य अभिवृद्धि कर, सडक सम्भार कर, पूर्वाधार विकास कर र वातावरण कर आदि समाविष्ट हुन्छन् ।
गत आर्थिक वर्षबाट लागु हुनेगरी सरकारले करको दायरा बढाएको थियो । नेपालमा पेट्रोलियम पदार्थको खपत वार्षिक रूपमा करिब १० प्रतिशतले बढ्ने अनुमान छ । तर कोभिड-१९ का कारण अहिले खपत गत वर्षकै जस्तो रहेको अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि