२८ जेष्ठ २०७८, शुक्रबार ०८:०७

मृत्यु शैयामा छटपटाइरहेकी मोडल ‘निशा घिमिरे’को ३ वर्षपछि उद्धार


काठमाण्डौं । दुर्घटनामा परेर तीन वर्षदेखि मृत्युशैयामा छटपटाइरहेकी कलाकार तथा मोडल निशा घिमिरेको उपचार पाउने भएकी छिन् । समाजसेवी तथा नवजीवन परोपकार समाजका संचालक दुर्गानाथ दाहालको विशेष समन्वयमा नर्भिक अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीले कलाकार घिमिरेको आज उद्धार गरी उपचार सुरु गरेकी हुन् ।

यस्तो छ कलाकार निशा घिमिरे मृत्युशैयामा पुग्नुको कारण :

तीन वर्षअघिसम्म मिडियाहरुमा छाउने गरेकी मोडल निशा घिमिरेको अहिलेको अवस्था पत्याउनै नसक्ने ‘दर्दनाक’ रहेको छ । चलेकी मोडल निशा आर्थिक अभावका कारण उपचार नपाउँदा घरमै अर्धचेत अवस्थामा थन्किएकी थिइन् । तीन वर्षअघि अभिनयको कोर्स पढ्न उनी भारतको देहरादून जाँदै गर्दा सडक दुर्घटनामा परी गम्भीर घाइते भएकी थिइन् । दुर्घटनालगत्तै उनको भारतकै अस्पतालमा उपचार गरिएको थियो । तर, त्यहाँको अस्पतालको उपचार महङ्गो भएपछि कमजोर आर्थिक अवस्थाका उनका बुबाआमाले छोरीलाई नेपालमै ल्याएका थिए ।
काठमाण्डौमा ल्याएर ट्रमा सेन्टरमा राखेर ३ महिनासम्म उपचार गरिएको थियो । तर, उनको अवस्थामा सुधार हुन सकेन । त्यसपछि चिकित्सकहरुकै सल्लाहअनुसार उपत्यकाका विभिन्न क्षेत्रका थेरापी सेन्टरहरुमा कलाकार घिमिरेको लगातार थेरापी गरिएको थियो । नियमित थेरापी गर्न समेत आर्थिक अभाव भएको र त्यही बीचमा कोरोनाको संक्रमण समेत बढेपछि उनी घरमै थन्किएकी थिइन् ।

उद्धारमा विशेष समन्वयकारी भूमिका खेल्ने दुर्गानाथ दाहाल यसो भन्नुहुन्छ :


कलाकार घिमिरेको दर्दनाक अवस्थाको विषयमा मैले फेसबुकमा पोस्ट गरेको थिएँ, त्यसमा नर्भिककी प्रबन्ध निर्देशक चौधरीले चासो राख्नुभयो र उहाँले आफ्नो समन्वयमा उपचार प्रबन्ध मिलाउने भनेर उद्धार गर्ने व्यवस्था मिलाउनुभएको हो । दुर्घटनाअघि ६० केजीभन्दा बढी तौल रहेको कलाकार घिमिरे आहार, हेरविचार र उचित उपचारको अभावमा सुकेर २० केजीमा सीमित भएकी छिन् । झट्ट हेर्दा ‘३ वर्षअघिकी कलकलाउँददी निशा नै अहिलेको अस्थिपञ्जर मात्र बाँकी रहेको मान्छे हो’ भनेर कसैले पत्याउँदैनन् । कोरोनाकालमा निशा बहिनीलाई केही सहयोग गर्न म उहाँको ललितपुरस्थित बतासेमा रहेको घरमा पुगेको थिएँ । अवस्था दर्दनाक देखेपछि मैले सहयोगको अपीलसहित पोष्ट गरेँ । मनकी धनी मेघा चौधरीज्यूले म उपचार गर्छु भनेर उद्धार गर्नुभयो र म धेरै खुशी छु ।
अहिले कलाकार घिमिरेको नर्भिक अस्पतालमा राखेर उपचार थालिएको छ । प्रारम्भिक जाँचको क्रममा उनमा नशाको समस्या देखिएको छ । शरीरका महत्वपूणर् अंगहरु जस्तै, मुटु, मृगौला, कलेजो, फोक्सो लगायतमा ठूलो समस्या देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि