२२ बैशाख २०७५, शनिबार २१:१५

मेरो छोरो मेरै देशको नोकर बनोस्


क्रान्ति पराजुली

प्यारो छोरो
जब तिमी, मेरो काखको ओछ्यानमा ढल्किएर
फिस्स फिस्स मुस्कुराउछौ
तिम्रो कलिलो मुस्कानले मलाई,
छिप्पिएको साहस दिन्छ
मेरो मुहारमा सूर्य उदाउँछ
खुशी हिमालझैँ अग्लिन्छ
तब, तिमीलाई कोख चिरेर यस धर्तीमा
पहिलो पटक
मेरा नयनले स्पर्ष गर्दाको
त्यो थिलथिलिएको पल
मेरो मानषपटलबाट हुलुका, हलुका हुँदै ओझेल पर्छ,

दिनभरी, श्रम गरी ल्याएको एक छाक खाना
जब तिमीलाई खुवाउँछु यी फोस्रा हातले
तिमीभन्दा अघि म एक पेट अघाउँछु

कठाङ्ग्रिएको निष्पट रातमा
जब टासिन्छौ तिमी चुम्बक झैँ मेरो छातीमा
म देख्छु एउटा न्यानो सपना
अनेकन पीडामा छट्पटाइरहेको मेरो देशलाई
एक जवान सन्तानले मलम लगाइरहेको
विकासको बिउ छरेर समृद्धिको फल फलाएको
उन्नति उक्लिएको, शान्ति छरिएको
अनि एकाएक पर …….देशबाट
“आमाआमा” भन्दै छट्पटाइरहेको
थुप्रै हुल बिरामी आवाजहरु
एकाएक मुस्कुराउदै मेरै वरिपरि नाँचेको
मलाई बेहुली झैं सिंगार्दै

झिसमिसे नहुँदै तिमी ब्यूँझिएउ, तातातुतु तुताएउ
तिम्रो संकेतलाई बुझेँ मैले
तिमी भन्दै थियौ “मलाई जाडो भएको छ आमा”
तिमीलाई मातृत्वको कम्मल ओढाएपछि
फेरि अर्को न्यानो सपना देखेँ मैँले
अन्याय, असमानता र अस्थिरताको चिहानमा
जवान पसिनाको थोपाहरु सिंञ्चित भएको छ
अनि मलिलो माटो बनेको छ
जहाँ न्याय, समानता र स्थिरताको सुन्दर फूल फुलेको छ

अध्यारो इतिहासबाट उज्यालो भविष्यको
सपना देख्ने तिम्री बुढी आमाले
गर्व र फूर्तीको घुम्टो ओढेकी छे
खुशीको तालमा नाच्दै छे
किनकी उसले धरहराको टुप्पोबाट नियाल्छे र देख्छे
जवान छोरो आफ्नै देशको नोक्कर भएको
जवान छोरो आफ्नै देशको नोक्कर भएको

हाल ः काठमाडाैं

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि