‘काली गण्डकी डाइभर्सनका विषयमा कतै चर्कियो विरोध, कतै भने समर्थन’

बुटवल । केही वर्षदेखि चर्चामा रहेको काली गण्डकी-तिनाउ नदी डाइभर्सन आयोजनाको कार्यालय स्थापना गरिएपछि यो महत्वाकांक्षी योजनामाथि समर्थन र विरोध चर्कन थालेको छ ।
बुटवलमा उक्त आयोजना कार्यालयको उद्घाटन गर्दै उपप्रधानमन्त्री विष्णु पौडेलले आयोजनाका लागि लाग्ने खर्च सुनिश्चित गरिएको बताएका थिए ।
प्रस्तावित आयोजनाको विस्तृत परियोजना प्रतिवेदन डीपीआर अझै बनाइएको छैन तर योजना अनुसार पाल्पाको रम्भा गाउँपालिकाको पिपलडाँडा क्षेत्रबाट २७ किलोमिटर सुरुङ खनेर पाल्पाको दोभानमा पानी झारिनेछ भने दोभानबाट बुटवलको वेलवाससम्म फेरि अर्को ७ किमीको सुरुङ बनाएर पानी त्यता लगिने बताइएको छ । सुरुङको अन्तिम विन्दुमा पर्ने दोभानमा ५४ मेगावाट र वेलवासमा ७२ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
यस्तै दोभानबाट तिनाउमा खसालिने केही पानी रुपन्देही बुटवल पूर्वमा सिँचाइको लागि प्रयोग गरिनेछ भने वेलवासतर्फ लगिएको पानी कपिलवस्तुसम्म पुर्याइनेछ ।
जसबाट दुई जिल्लाका करिब एक लाख हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने अनुमान गरिएको छ ।
आयोजना कार्यालय स्थापना भएसँगै तल्लो तटीय क्षेत्र र माथिल्लो तटीय क्षेत्रमा एक साथ विरोध र स्वागत सुरु भएको छ । माथिल्लो तटीय क्षेत्रमा पर्ने गण्डकी प्रदेश सरकारदेखि लिएर पाल्पा, तनहुँ र पूर्वी नवलपरासीका स्थानीय तहले विरोध सुरु गरेका छन् भने रुपन्देही र कपिलवस्तुमा यो आयोजनाको स्वागत गरिएको छ ।
विरोध गर्नेहरूले काली गण्डकी डाइभर्सनले नदी सभ्यतामाथि धेरै नराम्रो प्रभाव पार्ने बताउँदै सो आयोजना कार्यान्वयन हुन नदिने चेतावनी पनि दिएका छन् ।