‘सरकारसँग सम्झौता भएको चार महिना बितीसक्दा पनि छुटेनन् विप्लव समूहका कार्यकर्ता’

काठमाडौं । सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमति भएको चार महिना बितिसक्दा विप्लव समुहका कार्यकर्ताहरु रिहाइ भएका छ्र्रैनन् ।
केपी ओली नेतृत्वको सरकारकै पालामा गत फागुन २० गते भएको तीन बुँदे सहमतिमा उक्त पार्टीका कार्यकर्ता रिहाइ गर्ने विषय पनि समावेश थियो ।
सरकारले ओली सत्तामा रहँदा कानुनी जटिलताका कारण सम्झौता अनुसार कार्यकर्ता रिहाइ गर्न नसकिएको बताउँदै आएको थियो ।
गृह मन्त्रालयका अधिकारीहरूले पनि अहिलेसम्म उक्त दलका कार्यकर्ता रिहाइबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन् ।

सहमतिको बुँदा नम्बर-३ मा भनिएको छ, “नेपाल सरकार, नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताहरूको रिहाइ र सम्पूणर् मुद्दाहरू खारेज गर्न सहमत भएको छ ।”
सोही सहमति अनुसार बिनासर्त आफ्ना कार्यकर्ता रिहा हुनुपर्ने चन्द समूहका नेताहरूको भनाइ छ । तर सरकारले त्यसमा सहयोग नगरेको उनीहरू बताउँछन् ।
ओली सत्तामा हुँदा कार्यकर्ता रिहाइ गर्न नसकिने कारणबारे सरकारी अधिकारीहरूले कानुनी अड्चन देखाएको चन्द समूहबाट वार्ता टोलीका सदस्य समेत रहेका नेता उदयबहादुर चलाउनेले बताए ।
विप्लव समूहका अधिकांश कार्यकर्ताहरूले अहिले पुर्पक्षका लागि थुनामा रहेका छन् ।
नयाँ सरकार गठन भएलगत्तै चन्द समूहका नेताहरू नयाँ सरकारलाई समर्थन गरेका दलका नेताहरूसँग भेटघाटमा व्यस्त छन् ।
त्यस क्रममा बुधवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका उनीहरूले बिहीवार एमाले नेता माधवकुमार नेपाल र शुक्रवार जसपाका नेता बाबुराम भट्टराईलाई भेटेका थिए ।