अब नेपालमा स्मार्ट लकडाउन, माघ १५ सम्म विद्यालय बन्द
काठमाडौं । कोरोना भाइरस सङ्क्रमण बढ्दै गएपछि कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीले विद्यालयहरू बन्द गर्नेसहित सरकारलाई चार सिफारिस गरेको छ ।
केन्द्रले सार्वजनिक सेवा तथा हवाईयात्राका लागि खोप लगाएको प्रमाणपत्र अनिवार्य गर्न समेत सरकारलाई सिफारिस गरेको केन्द्रकी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् ।
केन्द्रका सिफारिसहरू सरकारका सम्बन्धित मन्त्रालयको निर्णयपछि मात्रै कार्यान्वयनमा आउने व्यवस्था छ । अत्यधिक सङ्क्रामक भनिएको ओमिक्रोन भेरिअन्टका कारण विश्वभरि कोभिड बढिरहेको छ ।
नेपालमा कोरोना भाइरस सङ्क्रमितको संख्या उकालो लागिरहेको तथ्याङ्कले देखाएको छ । आइतवार अपराह्ण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार विगत २४ घण्टामा १,१६७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा एक साता अघिसम्म २.६ प्रतिशतमा रहेको सङ्क्रमण दर तीनगुनाले बढेर आइतवार ९.१ प्रतिशत पुगेको छ ।
यस्ता सिसिएमसीले गरेका सिफारिसहरू :
१) विद्यालय बन्द
केन्द्रले आगामी माघ १५ गतेसम्म विद्यालयहरू बन्द गर्ने शिक्षा मन्त्रालयलाई गरेका सिफारिसमा शिक्षा मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
२) स्मार्ट लकडाउन
केन्द्रले स्मार्ट लकडाउनलाई पुनः प्रभावकारी रूपमा कार्यान्वयन गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ । यो विषयमा निर्णय भने हुन बाँकी छ ।
३) भेला र मेलामा रोक
केन्द्रले राजनीतिक भेलाहरू नगर्न आह्वान गर्दै सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउनेगरी प्रतिबन्ध लगाउन गृह मन्त्रालयलाई सिफारिस गरेको छ ।
४) खोप कार्ड अनिवार्य
माघ ३ गतेबाट लागु हुनेगरी विभिन्न सार्वजनिक स्थलमा प्रवेश गर्दा खोप कार्ड अनिवार्य गर्न पनि सीसीएमसीसीले सरकारलाई सिफारिस गरेको छ ।