मध्य फागुनमा पहिलो हिउँदे वर्षासहित हिमपात

काठमाडौं । राजधानी काठमाडौंमा पाँच महिनापछि पहिलो हिउँदे वर्षा भएको छ । असोज अन्तिममा पानी परेपछि आज अपरान्हको वर्षा नै यो वर्षको हिउँदको पहिलो हो ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज हल्का वर्षा भएको छ । आजको वर्षा सामान्य हुने महाशाखाको भनाइ छ ।
काठमाडौंदेखि पश्चिम र गण्डकी प्रदेशका पहाडी भागमा दिउँसोदेखि वर्षा भएको हो । आजको वर्षा र चट्याङका कारण काठमाडौं आउँदै गरेका राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् । प्रतिकूल मौसमका कारण अन्तर्राष्ट्रिय उडानमा रहेका केही विमान भारततर्फ ‘डाइभर्ट’ भएको हुन् ।
भारतबाट आएको भिस्तारा र इण्डिगो एयर लखनउ फर्केका थिए । दोहाबाट आएको कतार एयरवेजको विमान सिमरामाथिको आकाशमा केहीबेर आकाशमा ‘होल्ड’ भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । आन्तरिकतर्फ भरतपुरका दुई उडान रद्द गरियो भने अन्य केही उडान ढिलो भएको थियो ।