२९ भाद्र २०७९, बुधबार २१:३२

काभ्रेमा सहकारीको ‘बिग मर्जर’, सामुदायिक र युवा साकोसबीच एकिकरण सम्झौता


काभ्रे । काभ्रे जिल्लाको पनौती नगरपालिकामा मुख्य कार्यालय रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. र बनेपा मुख्य कार्यालय रहेको युवा बचत तथा ऋण सहकारी संस्था लि. बीच एकीकरण गर्ने सम्झौता भएको छ । सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को मुख्य कार्यालयमा भएको एकीकरण सम्झौतामा दुवै संस्थाका एकीकरण कार्यदलले दुबै संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र सल्लाहकार समेतको उपस्थितिका एकीकरण सम्झौतामा हस्ताक्षर गरेका थिए ।
२०५१ साल माघ १४ गते स्थापना भई ९ वटा सहकारी संस्था एकीकरण भई काभ्रेपलाञ्चोक, काठमाण्डौं, भक्तपुर र ललितपुर जिल्ला कार्यक्षेत्र रहेको ३८ हजार शेयर सदस्य र ३ अर्ब ७४ करोडको कुल पूँजी रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. र २०५३ साल भाद्र १५ गते स्थापना भई ११ हजार शेयर सदस्य र ४५ करोडको कुल पूँजी रहेको युवा बचत तथा ऋण सहकारी संस्थाले एक आपसमा एकीकरण हुने सम्झौता गरेका हुन् ।
स्थापनाकालदेखि नै समुदायमा केन्द्रित रही सञ्चालित यी दुवै संस्था एशियाली ऋण महासंघद्वारा सञ्चालित एक्सेस ब्राण्डिंङ कार्यक्रममा समेत सहभागी संस्थाहरु हुन् । एशियाली ऋण महासंघ र नेफ्स्कुनको अनुगमन र नियमनमा सञ्चालित यि संस्थाहरु मध्ये सामुदायिक एक्सेस सिल्भर ब्राण्ड प्राप्त संस्था हो भने युवा एक्सेस कार्यक्रममा सहभागी संस्था हो ।
कार्यक्रममा संयुक्त एकीकरण कार्यदलका संयोजक एवं युवा बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष उदयराम कायस्थले अब स्मल एण्ड ब्युटिफूल भनेर सहकारी संस्थाहरु सञ्चालन गर्न अबको परिस्थितिमा सहज नभएकाले बिग एण्ड स्ट्रङ्ग भन्ने अवधारणा अंगिकार गर्नु जरुरी भएको बताउनुभयो । त्यसैको नतिजा स्वरुप दुई संस्थाहरु एकीकरणको सम्झौता गरिएको उहाँले बताउनुभयो ।
त्यसैगरी सामुदायिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रकाश बन्जाराले मन्तब्यको क्रममा राज्यको कानून, सहकारी ऐन, नियमावली तथा निर्देशनलाई अक्षरश पालना गर्दै शेयर सदस्यहरुलाई एकीकृत संस्थाबाट दिगो र गुणस्तरिय सेवा उपलब्ध गराउने उदेश्यले एकीकरण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो – हामीले एकीकरणको ढोका खुल्ला राखेका छौं । अन्य संस्थाहरुसँग पनि एकीकरणको छलफल चलिरहेको छ र चलिनै रहनेछ । एकीकरणको बाधक भनेको पद हो, पद कहिले पनि स्थायी हैन त्यसैले म केही पनि पदमा छैन भन्ने सोचेर खाली दिमागले एकीकरणको छलफलमा बस्नु पर्छ, अनि मात्र एकीकरणले सार्थकता लिन सक्छ यो एकीकरणको सन्देशले काभ्रेमा बिग मर्जरको थालनी भएको छ ।
दुबै संस्थाको आगामी साधारण एकीकरणको प्रस्ताव पारित भएपश्चात दुबै संस्थाको एकीकृत कारोबार हुनेछ । एकीकृत संस्थाको शेयर सदस्य संख्या ४८ हजार र कुल पूँजी रू ४ अर्ब २२ करोड हुनेछ भने शेयर पूँजी रू ३८ करोड पुग्नेछ । लगानीमा रहेको ऋण रू ३ खर्ब ३३ करोड हुनेछ । बचत निक्षेप रू २ अर्ब ७० करोड हुनेछ । जगेडा कोष रू. ३० करोड हुनेछ र अन्य कोषहरु रू २१ करोड गरी जम्मा कोष रू ५१ करोडको हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि