सन्दिप लामिछानेलाई अर्को ऐतिहासिक अवसर, विश्व क्रिकेटका हस्तीसँग खेल्ने
२ जेठ । काठमाडौं
पहिलोपटक आइपिएलमा खेल्ने नेपाली खेलाडीमात्र होइन खेलेपछि पनि सबैलाई चकित पारेका नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेले अर्को ऐतिहासिक अवसर पाएका छन् । आगामी ३१ मेमा इङल्याण्डको लर्डसमा हुने टी २० मा विश्व ११ र वेस्ट इण्डिज खेल्दा सन्दिपले पनि खेल्न लागेका हुन् ।
विश्व ११ बाट बंगलादेशका सकिव अल हसनले नाम फिर्ता लिएपछि आइसिसीले उदाउँदा क्रिकेटर सन्दिपलाई छानेको हो ।
विश्व ११ बाट इंग्ल्यान्डका कप्तान इयन मोर्गनको कप्तानी गर्नेछन् । पाकिस्तानी अलराउन्डरद्वय शहिद अफ्रिदी र शोएव मलिक तथा श्रीलंकाका थिसारा पेरेरा पनि खेल्दैछन् । तामिम इकबाल, दिनेश कार्तिक, रशिद खान, मिचले म्याकलेनाघन, हार्दिक पाण्ड्या, लुक रोन्ची पनि टिममा छन्।
वेस्ट इण्डिजको टोलीमा क्रिस गेल, सामुइल बद्री, एन्ड्रयु फ्लेचर, रायद इम्रित, इभिन लुइस, एस्ली नर्स, किमो पाउल, दिनेश रामदिन, रोभमान पोवेल, एन्ड्रयु रसेल, मार्लोन सामुइल्स, केसरिक विलियम्ससहितका खेलाडी छन्। विश्वप्रसिद्ध खेलाडीसँग खेल्न पाउँने भएका कारण सन्दिपको बलिङ थप प्रभावकारी बन्दै जाने र यसले नेपाली क्रिकेटलाई नै फाइदा हुनेछ ।
गत वर्ष हुरिकन इर्मा र मारिआ आँधि आउँदा डोमिनिकाको विन्डसोर पार्क रंगशाला र अंगुइलाको जेम्स रोनाल्ड वेबस्टर पार्क रंगशाला भत्किएको थियो । यो खेलबाट उठेको रकम यिनै रंगशालाको पुनर्निमाणका लागि खर्च गरिन लागेको हो ।