१ जेष्ठ २०८१, मंगलबार / Tue May 14, 2024

‘आइसीयू अभावमा यस्ता विकल्पबाट गर्न सकिन्छ कोरोना संक्रमितको उपचार व्यवस्थापन’


काठमाडौं । नेपाल अहिले कोरोना भाइरसको दोस्रो लहरको फैलावटले जोखिममा छ । जटिल खालका कोरोना संक्रमितको संख्या दैनिक बढीरहँदा देशका विभिन्न अस्पतालहरुमा आइसीयू र भेन्टिलेटर भरिएका छन् । बिरामीले सहजै रुपमा आइसीयू, भेन्टिलेटर पाउने अवस्था छैन ।
बढ्दो कोरोना संक्रमण दरका कारण बिरामीहरु अस्पताल चहार्दा चहार्दै मृत्यवरण गर्न पुगेका घटनाहरु पनि बाहिर आएका छन् । थप बिरामी भर्ना लिन नसक्ने विभिन्न अस्पतालहरुले बताइरहेका छन् । कोभिड बिरामीको चाप अस्पतालहरुमा थेगी नसक्नु छ ।
हाल तिव्र गतिमा बढीरहेको संक्रमणलाई व्यवस्थित गर्न भौतिक पूर्वाधार र जनशक्ति पर्याप्त छैन । यो जटिल अवस्थाबाट सरकारले हात उठाइसकेको छ ।
आइसीयू र भेन्टिलेटर नपाएर बिरामीहरु छटपटाइरहेका बेला बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रा.डा. सञ्जीव शर्माले यस्ता उपायहरु दिएका छन् :

अक्सिजनको मात्रा नाप्ने र घोप्टो परेर सुत्ने

कोरोना लाग्ने बित्तिकै आइसीयू नचाहिने भन्दै डा शर्मा संक्रमणको दोस्रो साताबाट फोक्सोमा समस्या आई अक्सिजनको कमी सुरु हुने बताउँछन् । त्यो बेला बिरामीले तत्काल उपचार पाउन सके जटिल अवस्थालाई रोक्न सकिने उनले बताए । विभिन्न उपायबाट संक्रमितको घरमै पनि उपचार हुन सक्छन्। त्यसका लागि संक्रमित व्यक्तिको घरमै समय समयमा पल्स अक्सिमिटरको सहायताले अक्सिजन मात्रा नापिरहनु पर्छ। शरीरमा अक्सिजनको मात्रा कम देखिए विशेषगरी दुई कुरामा जोड दिनुपर्छ ।
पहिलो, अक्सिजनको मात्रा ९२ या योभन्दा कम भए बिरामीलाई डेक्सामिथासोन औषधि दिनको खाना/खाजापछि ६ एमजी दिनुपर्छ ।
दोस्रो, अक्सिजनको व्यवस्था गर्न सकिन्छ भने घरमै अक्सिजन प्रयोग गर्ने। शरीरमा अक्सिजनको कमी भए घोप्टो परेर सुत्नुपर्छ। यी दुई उपचार घरमै बसेर पनि गर्न सकिने उनले बताए। यी दुई कुरालाई व्यवस्थापन गर्न सके जिल्ला स्तरीय अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्रमा पनि संक्रमितको उपचार गर्न सकिने उनले बताए ।
डा. शर्माका अनुसार स्थानीय तहमा स्थापना गरिने आइसोलेसन सेन्टरमा पनि यही तरिकाले संक्रमितको उपचार गर्न सकिन्छ ।

टेली मेडिसिन सेवा प्रयोग गर्ने

टेली मेडिसिन अर्थात् टेली चिकित्सा पद्दति । विकसित मुलुकमा प्रचलित स्वास्थ्य सेवाको एक अवधारणा । तर यो पद्दति नेपालमा भने फस्टाउन सकेको छैन। अस्पताल तथा चिकित्सकको पहुँचबाट टाढा रहेका नागरिकलाई मोबाइल, क्यामरा जस्ता प्रविधिको माध्यमबाट दिइने स्वास्थ्य सेवा नै टेली चिकित्सा पद्धति हो ।
दुर दराजमा रहेका नागरिकलाई टेली चिकित्सा पद्दति मार्फत स्वास्थयको पहुँचमा ल्याउन सकिन्छ । टेली चिकित्सा पद्धतिमा प्रविधिको माध्यमबाट दुर्गममा रहेका बिरामीसंग विशेषज्ञ चिकित्सकले प्रत्यक्ष रुपमा वार्ता गरी परामर्श गर्न सक्छन् ।
यही टेली मेडिसिनलाई कोरोना संक्रमितको उपचारका लागि प्रयोग गर्न सकिने डा. शर्मा बताउँछन् । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा यही पद्दतिबाट विभिन्न बिरामीलाई विशेषज्ञ चिकित्सकले सेवा दिने गरेको उनले बताए । सरकारले टेली मेडिसिनको प्रयोगलाई बढाउनुपर्नेमा उनी जोड दिन्छन् ।
डा. शर्माका अनुसार अहिले विभिन्न सामाजिक सञ्जाल छ। त्यसको माध्यमबाट बिरामीहरुसँग परामर्श गर्ने, अवस्था बुझ्न सकिन्छ। सुझाव दिन सकिन्छ ।
उनका अनुसार हरेक नगरपालिकाले दुई वटा टोली बनाउन सक्छन्। एक, घरमै बिरामीलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने बारेमा । दोस्रो, ती बिरामीहरुलाई टेली मेडिसिन मार्फत जोड्ने ।
सरकारले अहिले विभिन्न सरकारी अस्पतालहरुमा टेली मेडिसिन सुरु गरेको छ। यसलाई प्रयोग गर्न सकिन्छ। आइसीयू बेड बढाएर मात्र हुँदैन । यी विभिन्न तरिकाबाट कोरोनालाई घेर्नु पर्छ ।
जनशक्ति परिचालन
स्वास्थ्य प्रणाली भनेको भौतिक पूर्वाधार र शय्या मात्रै होइन, जनशक्ति सबैभन्दा महत्वपूणर् पक्ष हो । धेरै अस्पतालमा उपकरण र पूर्वाधार भएर पनि जनशक्तिको अभावमा सेवा प्रवाह हुन सकेको छैन । महामारीको यो समयमा भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थापन सबैभन्दा ठूलो चुनौती हो । सरकारले भौतिक पूर्वाधारसँगै जनशक्ति व्यवस्थापन र परिचालनमा ध्यान दिनुपर्दछ ।

सचेत रहने अनि सेल्फ लकइन गर्ने

कोरोना संक्रमणको जोखिम बढ्नुमा हामी आफैँ पनि यसको भागिदार छौँ । मास्कको अनिवार्य प्रयोग, साबुन पानीले हात धुने, सामाजिक दूरी कायम गर्ने, भीडभाडमा नजान चिकित्सक तथा विज्ञहरुले सुझाव दिँदै आएका छन् । तर जनस्वास्थ्यका यी मापदण्ड पालना गर्ने कमै मात्र थिए ।
डा. शर्माका अनुसार हामी आफैँ जनस्वास्थ्यका कुरालाई पटक्कै ख्याल नगर्ने । मास्क पनि नलगाउने, भीडभाड गर्ने, यो अवस्थामा पनि भोजभतेर गर्ने अनि गाली मात्र गरेर पनि हुँदैन ।

(यो सामाग्री स्वास्थ्य खबर पत्रिकाको सहयोगमा तयार पारिएको हो ।)

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि