५ जेष्ठ २०८१, शनिबार / Sat May 18, 2024

‘महाकालीमा तुइनबाट २२ जना खसे’, ३ दशकमा न सदरमुकाम जाने बाटो न पुल !


धनगढी । २०७८ साउन १५ गते ३३ वर्षका जयसिंह धामी महाकाली नदीमा तुइन तर्ने क्रममा बेपत्ता भए । भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन काट्दा जयसिंह नदीमा बेपत्ता भएको घटनाका प्रत्यक्षदर्शीले बताएपछि घटनाले निकै नै चर्चा पायो ।
सरकारी अनुसन्धान टोलीले भने उक्त दिन के भएको भन्ने अझै पत्ता लगाउन सकेको छैन, टोली अनुसन्धानको क्रममै छ । उता भारतीय सुरक्षाकर्मीले पनि तुइन नकाटेको दाबी गरेका छन् ।
तुइन तर्ने क्रममा महाकालीमा खसेर बेपत्ता हुने जयसिंह पहिलो नेपाली भने होइनन् ।
यसअघि ब्यास गाउँपालिका-२ मा मात्र २०४९ सालयता जयसिंहजस्तै महाकालीमा तुइन तर्ने क्रममा खसेर २२ जनाको ज्यान गएको तथ्यांक सोही वडाको छ ।
नेपाली भूमिमा बाटो नभएपछि महाकाली नदीमा तुइन तरेर भारतीय भूमि हुँदै सदरमुकाम जानुपर्ने बाध्यता ब्याँस गाउँपालिकामा छ ।
हरेक दिन सदरमुकामा जानु परे यहाँका नागरिकले कष्टकर जोखिमपूणर् यात्रा गरिरहनु पर्छ । बिरामी हुँदा, सुत्केरी, दुर्घटनामा परे नजिकका स्वास्थ्य चौकी पुग्छन् । त्यहाँ पनि औषधि, जनशक्ति र उपकरण अभाव छ । त्यसपछि बोकेर सदरमुकाम ल्याउन भारतकै बाटो लगिन्छ ।
काठेपुलले हिउँदमा सजिलो भए पनि बर्खामा काम चल्दैन । दार्चुलाको सदरमुकाम खलंगाबाट ब्याँस गाउँपालिकाको केन्द्र सुनसेरा पुग्ने एक मात्र बाटो अहिले बन्द छ । वडा नम्बर ४ सुनसेरा ब्याँसको केन्द्र हो । गाउँपालिकाको कार्यालय यहीँ छ । यहीँ रहेको स्वास्थ्य केन्द्रमा एम्बुलेन्स पनि छ । असारपछि बाटो बिग्रेकाले एम्बुलेन्स चल्न सकेको छैन ।
असार पहिलो साता पानी परेपछि ठाउँठाउँमा पहिरो खस्दा सडक बन्द भएर ब्याँसका ६ वटै वडाका बासिन्दा नेपालकै भूमिको बाटो हिँड्न पाउँदैनन् । उनीहरू भारतको बाटो हुँदै सदरमुकाम पुग्न बाध्य छन् ।
तिंकर सडक बने यहाँका नागरिकले तुइन तर्नुपर्ने बाध्यता हट्छ । किनकी सुविधा भए मान्छेले ज्यान जोखिममा हाल्दैनन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि