५ जेष्ठ २०८१, शनिबार / Sat May 18, 2024

संसद विघटनको तयारीमा ‘प्रधानमन्त्री शेरबहादुर देउवा’


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता सम्हालेको आज ६६ दिन पुग्यो । तर मन्त्रिपरिषद नै विस्तार गर्न सकेका छैनन् ।
सत्तारुढ गठबन्धनका नेताहरु प्रचण्ड, माधव नेपाल, उपेन्द्र यादवका कारण प्रधानमन्त्री देउवा चेपुवामा परेका छन् । न प्रभावकारी ढंगले सरकार चलाउन पाएका छन् न त चाहेर पनि मन्त्रिमण्डल विस्तार गर्न सकेका छन् । प्रचण्ड, माधव र उपेन्द्रको ढिलाईले अपजसमात्रै पाइरहेका छन् देउवाले ।
चेपुवामा पारेर ढिलाई गर्ने प्रचण्ड, माधव र उपेन्द्र । तर अपजस जति सबै सभापति देउवामाथिमात्रै परेपछि नेपाली कांग्रेसले नयाँ निष्कर्ष निकालेको छ । वामपन्थीहरुका कारण सभापतिको छवि पनि नकारात्मक बन्ने र यसले सिंगो पार्टी तथा देशलाई नै निणर्यको बन्दी बनाउने भन्दै कांग्रेसले छिटोभन्दा छिटो मध्यावधि चुनावमा जानुपर्ने निष्कर्ष निकालेको छ ।

कांग्रेसका अनौपचारिक छलफलमा देउवा समूह र पौडेल समूह दुबैतिर मध्यावधि चुनावको चर्चा भइरहेको छ । १४औ महाधिवेशन अघि नै प्रतिनिधिसभा विघटन गरेर चुनावमा जानुपर्ने कांग्रेसजनको मत बाक्लिएको छ ।
एकातिर एमालेले संसद अवरुद्ध गरेको र अर्कोतिर सत्ता गठबन्धनकै दलहरु मन्त्रालय र मन्त्री भागवण्डा, दल विभाजन अध्यादेशमा अल्झेर कुनै काम गर्न नदिएका बेला कांग्रेसमा मध्यावधि निर्वाचनको बहस सुरु भएको हो । अनिणर्यको बन्दी बनेर जति धेरै गठबन्धन सरकारमा बस्यो त्यति नै कांग्रेसको छवि खराब हुने नेताहरुको निष्कर्ष छ ।
नेताहरुले महाधिवेशन प्रक्रिया सुरु भइसकेकाले चुनावतिर अघि बढ्न सभापति एवं प्रधानमन्त्री देउवालाई सुझावसमेत दिएका छन् ।
राजनीतिक संकट अझ गहिरिँदै जाने अवस्था आउने भएकाले अर्ली इलेक्सनमा जानुको विकल्प नभएको नेता रामशरण महतको निष्कर्ष छ मुलुकलाई निकास दिन चुनाव अपरिहार्य भइसकेको उनले बताए । त्यसैगरी नेता प्रदीप पौडेल देशलाई छिटोभन्दा छिटो निर्वाचन लानुको विकल्प नभएको बताउँछन् । ’संवैधानिक व्यवस्थाअनुसार समझदारी गरेर निर्वाचनमा जानुपर्छ । मिलजुली अगाडि बढ्ने समझदारी नहुने हो भने सरकार प्रभावकारी नहुने भो । यस्तोमा निर्वाचन नै निकास हो,’ उनले भने ।
पौडेलले संसद, सरकार प्रभावकारी हुन नसक्ने, सरकार विस्तार हुन नसक्ने, मिलिजुली सरकार बनाएर प्रभावकारी हुन नसक्ने अवस्था भएको र निर्वाचनको अवधि पनि धेरै नभएकाले एक वर्षभित्र हुनेगरी छिटो निर्वाचनमा जानुपर्ने जोड दिए ।
निर्वाचन नै विकल्प हुनथालिसकेको भन्दै पौडेलले वैशाखमा निर्वाचनमा हुनसक्ने सम्भावना आफूले देखिरहेको बताए ।
पार्टीकै नेताहरुबाट निर्वाचनमा जाने सुझाव आएपछि प्रधानमन्त्री देउवा प्रतिनिधिसभा विघटनतिर परामर्शमा जुटेका छन् । देशलाई अनिणर्यको बन्दी बनाएर राख्नुभन्दा ताजा जनादेशमा जानेतिर उनले गृहकार्य थालेको बालुवाटार निकट स्रोतले जानकारी दियो । यसो भएमा एमाले अध्यक्ष केपी ओलीले दुइपटकमा नसकेको संसद विघटन देउवाले एकै झड्कामा पूरा गरिदिनेछ । यसबारे देउवाले आफ्ना प्रतिनिधि खटाएर ओलीसँग परामर्श पनि गरिसकेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि