१२ बैशाख २०८१, बुधबार / Wed Apr 24, 2024

सहकारीको सुरक्षा गार्डको हत्यामा संलग्न अझै पत्ता लागेन, ‘सिङ्गो गाउँ त्रासमा’


दोलखा । दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका– १ जुँगुस्थित राजपुको हिमचुली बहुउद्देश्यीय सहकारीमा चोरी गरी सुरक्षागार्डको हत्या भएको १३ औँ दिन पूरा हुँदासमेत हत्यारा पत्ता लाग्न सकेको छैन ।
कात्तिक १० गते बेलुकी घरपरिवारसँगै खाना खाएर ड्युटीमा गएका सहकारीका सुरक्षागार्डको हत्या गरी नगद एक लाख ८५ हजार सात सय ८० चोरी भएको १२ औँ दिन बित्दासमेत हत्यारा पत्ता लाग्न नसकेको हो । रातिको समयमा ६८ वर्षीय सुरक्षागार्ड बाबुराम भनिने पूर्णबहादुर खड्काको बीभत्स हत्या गरी सहकारीको एक लाख ८५ हजार सात सय ८० रुपैयाँ चोरी हुँदा अहिलेसम्म पनि हत्यारा पत्ता नलाग्दा मृतकको परिवारमा निराशा छाएको मृतकका छोरा कञ्चन खड्काले गुनासो गरे ।
हिमचुली सहकारीमा नौ वर्षदेखि सुरक्षागार्डको रूपमा कार्यरत खड्का सहकारीको रात्रिकालीन सुरक्षाकर्मीका रूपमा कार्यरत थिए । गएको कात्तिक १० गते साँझ ६ः३० बजे परिवारसँगै खाना खाएर ड्युटीमा खटिएका खड्का घर फर्किएनन् । सदाझैँ बिहान ६ बजे घर पुगेर सबैलाई उठाउने र नियमित काममा लाग्ने ससुरा बिहान ११ बजेसम्म घर नफर्किएपछि परिवारले खोजी गर्दा उल्टै सहकारी चोरी भएको र सुरक्षागार्डसमेत बेपत्ता भएको खबर सुनेपछि परिवारसँगै आफन्तहरू उनको खोजीमा लागेको मृतककी बुहारी प्रणिता काफ्ले खड्का बताउँछिन् ।
पूर्णबहादुरले बोकेको मोबाइलसमेत नभेटिएपछि प्रहरी उक्त मोबाइलको लोकेसन पत्ता लगाउनतर्फ लाग्यो । प्रहरीको सूचनाअनुसार उक्त मोबाइलको लोकेसन जिल्ला सदरमुकाम चरिकोटतर्फ देखिएको भन्ने बुझिएपछि फेरि गाउँलेहरू चुप लागेर बसे । भोलिपल्ट कात्तिक १२ गते दिउँसो २ बजेतिर प्रहरीको अर्काे सूचना आयो लोकेसनमा फेरि अन्योल भयो, गाउँतिरै सोधखोज गर्नुस् भनेपछि आफन्त र स्थानीयहरू खोजीकार्यमा जुटे । नभन्दै दिउँसो ४ बजेतिर सहकारी भवनको झन्डै ४ सय मिटरनजिकैको च्यानडाँडा भनिने जंगलमा सडकभन्दा ४० मिटर तल बीभत्स अवस्थामा पूर्णबहादुरको शव छिमेकी रामबहादुर कार्कीले भेटेका थिए ।
सिद्धाको थान जुँगु सडकखण्डअन्तर्गत च्यानडाँडा भनिने सडकको झन्डै ४० मिटर तल पूर्णबहादुरको शव फेला पर्याे । शवको प्रत्यक्षदर्शीसमेत रहेका गौरीशंकर–१ का वडाध्यक्ष झलककुमार कार्कीका अनुसार हत्या गरिएका खड्काको मुखमा दुईवटा खादाले बलियो गरी बाँधिएको, दुईवटा हात र खुट्टा पछाडिबाट बाँधेको र टाउकोमा धारिलो हतियार प्रयोग गरी गहिरो चोट लगाइएको थियो । शवभन्दा केही माथि उनको जुत्तासमेत रहेको कार्की बताउँछन् । उता सहकारी भवनको बाहिरी भागमा भने कुनै क्षति गरिएको थिएन । स्थानीयका अनुसार गार्डको हत्या गरेपछि साँचो थुतेर गेटको चाबी खोलेर ढुक्कका साथ सहकारीको रकम चोरेको हुन सक्ने बताइएको छ । हिमचुली सहकारीका अध्यक्ष प्रकाश खड्काले सहकारीमा भएको रकममध्ये बाहिरी भागमा रहेको एक लाख ८५ हजार रकम दुईवटा दराज तोडेर झिकेको र सेभमा भएको रकम भने सुरक्षित रहेको बताए । सेभ फुटाउन धेरै प्रयत्न गरेको, तर नसकेको हुन सक्ने खड्का बताउँछन् ।
दोलखाका प्रहरी प्रमुख डिएसपी भेषराज रिजालले सहकारीको हत्या प्रकरण र चोरीप्रति प्रहरीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । रिजालले घटनाको गहिरो अनुसन्धान भइरहेको जनाउँदै हत्यारा पत्ता लगाउनका निम्ति प्रहरीले सबैखालका अनुसन्धान विधिको प्रयोग गरेको बताएका छन् । उनका अनुसार योजनाबद्ध तरिकाले नियोजित रूपमा घटना भएको सुनाउँदै यथाशीघ्र अपराधी पत्ता लगाउन आफूहरू निरन्तर लागिपरेको सुनाए । दोलखामा यसअघि पनि झन्डै आधा दर्जन सहकारीमा चोरी भए पनि कुनै घटनामा संलग्नहरू पनि कानुनी कारबाहीमा परेका छैनन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि