१२ बैशाख २०८१, बुधबार / Wed Apr 24, 2024

केरुङ-काठमाडौं रेलमार्गको विस्तृत अध्ययन सुरु, नेपालीसहित चिनियाँ टोली रसुवामा


काठमाडौं । बहुचर्चित काठमाडौं-केरुङ अन्तरदेशीय रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन सुरु भएको छ । चीनबाट १२ पुसमा आएको प्राविधिक टोलीले रसुवा र नुवाकोट पुगेर विस्तृत अध्ययन थालेको हो ।
रेल विभागको टोलीसँगै रसुवा पुगेको टोलीले त्यहाँको भौगोलिक अवस्थाको अवलोकन गर्दै विस्तृत परियोजनाको अध्ययन सुरु गरेको हो । चीन सरकारको चाइना रेल-वे सर्भे एन्ड डिजाइन ग्रुप कम्पनी लिमिटेडका प्राविधिकहरु रेल विभागका महानिर्देशक रोहितकुमार बिसुरालसँग रसुवा र नुवाकोट पुगेका थिए ।
विभागका अनुसार चिनियाँ प्राविधिक टोलीले साढे ३ वर्षमा विस्तृत सम्भाव्यता प्रतिवेदन तयार गरेर बुझाउनेछ । पहिलो एक वर्षमा सर्भेको काम सकिने छ भने त्यसपछिको डेढ वर्षभित्र फिल्डमा पुगेर नापी र नक्साङ्कको काम गरिनेछ । अर्को एक वर्षभित्र इन्जिनियरिङ अध्ययन प्रतिवेदनलाई अन्तिम रुप दिएर पेश गर्ने कार्यतालिका छ ।
विभागका एक अधिकारीका अनुसार चिनियाँ टोलीले काठमाडौंमा नै कार्यालय राख्नेछ । अध्ययनका लागि काम गर्न फिल्ड पनि पनि क्याम्पहरु स्थापना हुनेछन् । चीनले आफ्नै खर्चमा अध्ययनको काम गर्नेछ । सुरक्षा र सहजीकारणको काम नेपाली पक्षले गर्नेछ ।
चीनले २४ मंसिर २०७५ मा हस्तान्तरण गरेको केरुङ-काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदनअध्ययन अनुसार विस्तृत अध्ययनको काम यतिबेला सकिनु पर्ने थियो । केरुङ-काठमाडौं, काठमाडौं-पोखरा र पोखरा-लुम्बिनी रेलमार्गको डीपीआर बनाउने समझदारीपत्रमा २०७६ असोजमा भएको चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा हस्ताक्षर भएको थियो । त्यो समझदारी कार्यान्वयनका लागि कठमाडौंमा २०७६ मंसिर दोस्रो सातामा भएको नेपाल र चिनियाँ अधिकारीहरुको बैठकले काम बाँडफाँट गरेको थियो ।
चीन सरकारले कोरोना नियन्त्रणका लागि लिएको कडा नीतिका कारण लामो समयसम्म प्राविधिक टोली आउन सकेको थिएन । चीनले शून्य कोभिड-१९ नीति हटाएर यात्रा प्रतिबन्धहरु खुला गरेपछि यो परियोजनाको काम अब कार्ययोजनाअनुसार नै हुने अपेक्षा छ ।
अप्ठेरो भूगोलमा करिब ९८ प्रतिशत सुरुङमार्ग र पुल राखेर बन्ने आयोजना महँगो हुने निश्चित छ । त्यसैले आर्थिक लाभ विश्लेषणका आधारमा लगानी जुटेर रेलमार्ग निर्माण भएमा यो परियोजनाले नेपालको रेल्वे ‘कनेक्टिभिटी’ चीनको बन्दरगाहरुसम्म हुनेछ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि