३१ बैशाख २०८१, सोमबार / Mon May 13, 2024

शैलुङ्गेश्वरी साकोसको आठौं साधारण सभा सम्पन्न, सदस्यलाई विभिन्न विधामा सम्मान


काभ्रे । काभ्रेको चौरीदेउरालीमा रहेको शैलुङ्गेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष बिरबल गौतमले गर्नुभएको थियो ।

प्रमुख अतिथि दिपक कुमार गौतमले शैलुङ्गेश्वरी साकोसले सहकारीहरुको भीडमा छुट्टै पहिचान बनाउन सफल भएको बताउनुभयो । उहाँले सहकारीहरुप्रति अविश्वास पैदा भएको यो अवस्थामा शैलुङ्गेश्वरी साकोसले आम सदस्यको विश्वास पाई अघि बढिरहेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो – “सहकारीहरु सदस्यको सुखदुःखको साथी हो, साथै सहकारीलाई नीति, विधिको अधिनमा राखि समुदायमा आधारित भई सञ्चालन भएमा समाजको विकासको प्रमुख आधार हुनेछ ।”

कार्यक्रममा विशिष्ट अतिथि नेशनल कोप सोलुसनका कार्यकारी निर्देशक विवेकराज ठकुरी, चौरीदेउराली गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष चित्रप्रसाद चौलगाई, लक्ष्मी प्रतिष्ठानका अध्यक्ष समाजसेवी विष्णुप्रसाद गौतम लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेशनल कोप सोलुसनका कार्यकारी निर्देशक विवेकराज ठकुरीले नीति तथा कार्यविधिको अधिनमा सञ्चालित संस्था सधैं अग्र स्थानमा रहने बताउनुभयो । उहाँले भन्नुभयो – “सहकारीले आर्थिक कारोबार साथसाथै समाज परिवर्तन र रुपान्तरणका लागि सचेतनामूलक कार्यक्रमहरू पनि गर्नुपर्छ ।”

त्यस्तै कार्यक्रममा चौरीदेउराली गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष चित्रप्रसाद चौलागाईले शैलुङ्गेश्वरी साकोसलाई गाउँपालिका कै उत्कृष्ट संस्थाको रुपमा सञ्चालन भई छुट्टै पहिचान बनाउन सफल होस् भन्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा संस्थाका सचिव शिवप्रसाद ढुंगेलले वार्षिक प्रतिवेदन तथा नीति र कार्ययोजना प्रस्तुत गनुभएको थियो । उहाँले प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले उपलब्ध गराउन लागेको योगदानमा आधारित सदस्य सुरक्षा कार्यक्रमको विषयमा पनि जानकारी गराउनु भएको थियो । साथैै संस्थाले हालै निर्माण गरेको ९ वटा नीति तथा कार्यविधिहरु सदस्यहरु माझ राख्नुभएको थियो । कार्यक्रममा कोषाध्यक्षको आर्थिक प्रतिवेदन कोषाध्यक्ष वेदप्रसाद गौतमले प्रस्तुत गर्नुभएको थियो । त्यस्तै लेखा तथा सुपरीवेक्षण समितिको प्रतिवेदन लेखा तथा सुपरीवेक्षण समितिका संयोजक विष्णुप्रसाद सापकोटाले प्रस्तुत गर्नुभएको थियो ।

शैलुङ्गेश्वरी साकोसको वित्तीय अवस्था यस्तो छ :

संस्था स्थापनाको आठौं वर्षमा संस्थाले कुल सम्पति १३ करोड ९० लाख ४७ हजार ७२० रहेको छ, त्यस्तै शेयर पूँजी ४ करोड ६९ हजार ३७ हजार ४००, निक्षेप संकलन ६ करोड २० लाख ६० हजार ८१९, संस्थागत पूँजी १ करोड ६ लाख ९९ हजार ११०, कूल ऋण लगानी १२ करोड ५८ लाख ३८ हजार ३९२ रहेको छ । संस्थाले आ.व. ०७९।८० मा खुद नाफा १ करोड ९ लाख २९ हजार ७१६ रुपैया गरेको छ ।

कार्यक्रममा सदस्यहरुलाई विभिन्न विधामा सम्मान पत्र र ११०५ नगदसहित सम्मान पनि गरिएको थियो । उत्कृष्ट बाल शिक्षा बचतकर्ता सम्मानबाट नारायणप्रसाद चौलगाई र स्पृया ढुंगानालाई सम्मान गरिएको थियो । कारोबार बचतकर्ता सम्मानबाट रुपा बस्नेत र अम्मरबहादुर गौतमलाई सम्मान गरिएको थियो । उत्कृष्ट ऋणी सदस्य सम्मानबाट दिलकुमारी गौतम र श्याम चौलागाईंलाई सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट ज्येष्ठ नागरिक सदस्य सम्मानबाट हरिमाई तामाङ र भवनाथ चौलागाईंलाई सम्मान गरिएको थियो । त्यस्तै सोही वडाका सबैभन्दा ज्येष्ठ नागरिक पुण्यमाता काफ्लेलाई पनि सम्मान गरिएको थियो ।

साथै जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमलाई सोही गाउँपालिका प्रतिनीधित्व गरि निर्वाचित हुनुभएकोमा सम्मान गरिएको थियो ।

नेशनल कोप सोलुसनका कार्यकारी निर्देशक विवेकराज ठकुरीलाई सहकारी क्षेत्रमा उहाँले पु¥याउनुभएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।

विपन्न बालबालिकाहरुलाई आधारभूत आवश्यकताबाट वञ्चित हुन नपरोस भनि छात्राबास सहितका आधारभूत आवश्यकतासमेत पूरा गरी सञ्चालित लक्ष्मी प्रतिष्ठानलाई सम्मानपत्र र ११,११०।- रुपैयाँ नगदसहित छात्रवृत्ति सामाजिक सेवा पुरस्कार २०८० प्रदान गरिएको थियो ।

साथै केदारेश्वर मच्छेनारायण सिद्धिविनायक मन्दिर संरक्षण समिति, परिवर्तित युवा क्लबलाई पनि सम्मान गरिएको थियो ।

शैलुङ्गेश्वरी साकोसको संस्थापक अध्यक्ष गुणप्रसाद चौलागाईं, निवर्तमान अध्यक्ष लिलामाया गौतम, बुद्ध हिमालय माबिका व्यवस्थापन समितिको अध्यक्ष भोज बहादुर गौतम लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

उक्त कार्यक्रममा संस्थाका सचिव शिवप्रसाद ढुंगेलले सामाजिक संस्था लक्ष्मी प्रतिष्ठानलाई स्टेशनरी सामाग्री उपलब्ध गराउनुभएको थियो ।

कार्यक्रमको अन्त्यमा सभापति तथा संस्थाका अध्यक्ष बिरबल गौतमले धन्यवाद ज्ञापनसहित आफ्नो मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष षडानन्द गौतमले राख्नुभएको थियो । कार्यक्रम सञ्चालन संस्थाका व्यवस्थापक दिपेन्द्र चौलागाईं र सहसचिव रश्मिकुमारी खड्काले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि