३ जेष्ठ २०८१, बिहिबार / Thu May 16, 2024

अंग्रेजी अध्ययन गर्न चाहनेलाई बुद्धिसागरले सिफारिस गरे पाँच पुस्तक


‘अंग्रेजी किताब पढ्न मन लाग्छ, तर भाषा कमजोर भएकाले पढ्ने आँट आउँदैन । दुई–चारवटा पढ्ने कोसिस गरेको बुझिएन ।

कुन किताब पढ्दा ठीक होला ?’ धेरै पाठकले यस्ताखाले सन्देश पठाउनुहुन्छ
त्यसैले, मैले सुरुवाती पठनका लागि हुने पाँचवटा किताब छानेको छु । यी किताबलाई शृंखलाबद्ध रूपमा पढ्नुभयो भने झन् सहज होला । यी किताब विश्व साहित्यका चर्चित पुस्तक त हुन्, तर पढ्नलाई सरल र सहज छन्।

लेखक बुद्धिसागरको यो सुझाब आजको नयाँ पत्रिका दैनिकले छापको छ।

द अल्केमिस्ट
पाउलो कोएलोको उपन्यास द अल्केमिस्ट सपनाको खोजीमा हिँडेको गोठालोको कथा हो । यो पुस्तक आठ वर्षदेखि लगातार न्यु–योर्क टाइम्सको बेष्ट सेलर लिस्टमा पनि परिरहेको छ । कोएलोले यो उपन्यास २१ दिनमा लेखेको जनाएका छन् ।

हिन्दी चलचित्र ओम शान्ति ओमको चर्चित संवाद ‘अगर किसी चिजको चाहो…।’ यसै पुस्तकबाट लिइएको हो । र, यसै पुस्तकले पाउलोलाई विश्वकै धनी १० लेखकमध्ये एक बनायो ।

नर्वेजियन वड
हारुकी मुराकामीको किताब नर्वेजियन वडबारे एउटा भनाइ छ, ‘यो पुस्तक हरेक जापानीको घरमा हुन्छ ।’ मुराकामीलाई यही किताबले विश्वव्यापी रूपमा चर्चित बनायो ।

उनले यो किताब समीक्षकलाई जवाफ दिन लेखेका रहेछन् । मुराकामी ‘सरियल’ पुस्तक लेख्न मन पराउँछन् । उनका सबै पुस्तक त्यस्तै छन् । समीक्षकले मुराकामीलाई समाज र यथार्थ धेरै थाहा नभएकाले सरियल लेख्ने गरेको आरोप लगाउँथे ।

यो आरोप सुन्दासुन्दा हैरान भएर उनले ‘मलाई यथार्थवादी उपन्यास पनि लेख्न आउँछ’ भनेर यो उपन्यास लेखेका थिए । तर, उनको परिचय नै यही उपन्यास भयो । उनलाई पत्रकारले सोधेका थिए, ‘के यो उपन्यास तपाईंकै कथा हो?’ मुराकामीले भनेका थिए, ‘होइन, मेरो आफ्नै कथा लेख्ने हो भने त बीस पन्ना पनि पुग्दैन।’

द फोर्टी रुल्स अफ लभ
एलिफ सफकको किताब द फोर्टी रुल्स अफ लभ अहिलेसम्म ४० भन्दा बढी भाषामा अनुवाद भइसकेको छ । उनी ओरहान पामुकपछि विश्व चर्चित हुने टर्किस लेखिका हुन् । उनलाई पाउलो कोएलोले निर्माण गरेको साम्राज्य भत्काउन सक्ने लेखिकाका रूपमा पनि लिइन् ।

द ब्याड गर्ल
मारिओ भर्गास लोसाको द ब्याड गर्ल उनका धेरै किताबमध्ये सबैभन्दा सरल छ । यो पेरुमा गुरिल्ला युद्ध लडेर पेरिस आएकी नायिकाको उतारचढावको कथा हो, जसलाई नायकले बुढेसकालसम्म पछ्याइरहन्छ । युवती मोड–मोडमा आफ्नो नाम फेर्दे पटकपटक बिहे गरेर नयाँ–नयाँ देश घुमिरहन्छे ।

पछिल्लोपटक नेपालमा बाम एकता हुँदा मलाई अचानक यो किताबको सम्झना आएको थियो । लोसा नोबेल पुरस्कार प्राप्त लेखक हुन् । उनी नेपालमा धेरै लेखकले नाम लिइरहने मार्खेजका समकक्षी हुन् ।

डिस्ग्रेस
जेएम कोएट्जीको किताब डिस्ग्रेसले बुकर पुरस्कार प्राप्त गरेको थियो । मलाई कोइट्जीको सबैभन्दा सरल पुस्तक यो नै लाग्छ । कोइट्जीको भाषामा बोसो हुँदैन, पुस्तकका हरेक शब्द तौलेर राखेजस्तो लाग्छ ।

पुस्तक पढ्दा धेरैपटक डिक्सनेरी पल्टाउनु पर्नेछ, तर डिक्स्नेरी पल्टाएकोमा पछुतो हुनेछैन । कोइट्जी सार्वजनिक समारोहमा त्यति धेरै देखिँदैनन् । उनका बारेमा अर्को भनाइ पनि छ, ‘कोइट्जी कहिल्यै मुस्कुराउँदैनन् ।’

कोइट्जी जयपुर लिट्रेचर फेस्टिभलमा पनि आएका थिए । पल्पसा क्याफेका लेखक नारायण वाग्ले अटोग्राफ लिन लाइन लागे । जब पालो आयो, उनले मुस्कुराउँदै कोइट्जीलाई भने, ‘म नेपालबाट आएको तपाईंको फ्यान हुँ ।’ वाग्लेले पछि लेखेका थिए, ‘मैले त्यसो भनेपछि कोइट्जी मुस्कुराउन त खोजे, उनको हाँसो चुहिएला–चुहिएलाजस्तो भयो, तर चुहिएन।’

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि