३१ बैशाख २०८१, सोमबार / Mon May 13, 2024

धनुषामा पनि ‘सिरिञ्ज’ आतंक, शिक्षकमाथि आक्रमण


धनुषा । काठमाडौंमा सिरिञ्ज जस्तो तिखो वस्तु आक्रमणको त्रास बढिरहेका बेला यस्तै प्रकृतिको घटना बिहीबार धनुषामा पनि भएको छ ।

विद्यालय गइरहेका शिक्षक मदन अधिकारीलाई नचिनेको मानिसले तिखो वस्तुले घोचेर फरार भएका छन् । उनीमाथि सिरिञ्ज आक्रमण भएको हुनसक्ने आशङ्का गरिएको छ ।
अधिकारीलाई ठिल्लास्थित विद्यालय गइरहेको बेला धनुषाधाम र मखनाहाबीचको बलुवा खोलामा तिखो वस्तुले घोचिएको हो ।

बलुवा खोलामा निर्माणाधीन पुलको छेउमा पुगेपछि आफूलाई एक युवकले अपशब्द बोल्दै सिरिञ्ज जस्तो तिखो वस्तुले घोचेको उनले बताए ।

घटनापछि जनकपुर अञ्चल अस्पताल पुगेका शिक्षक अधिकारीले भने, ‘पुलको पारिपट्टि मोटरसाइकल रोकेर दुई जना बसेका थिए । केही इसारा गरेपछि मैले मोटरसाइकल रोकेँ, मेरो मोटरसाइकल रोकिने बित्तिकै ‘हिरो बन्ता है’ भन्दै दाहिने पाखुरामा घोचिदियो ।’

तिखो वस्तुले घोचेपछि एकछिन आँखा देख्न नसकेको चारैतिर अँध्यारो भएको उनको भनाइ छ । ‘मैले समाचारमा यस्तो घटनाबारे पढेको थिएँ । आफैँ त्यसको शिकार भइयो’, उनले भने, ‘एकछिन त आँखै देखिनँ । सामान्य अवस्थामा फर्किने बेलासम्म उनीहरु भागिसकेका थिए ।’

घटनापछि ‘चल रे चल’ भन्दै बी आर ३० लेखेको भारतीय नम्बर प्लेटको मोटरसाइकल चढेर उनीहरु भागेको शिक्षक अधिकारीले बताए । यता, प्रहरीले यो कार्यमा संलग्नको खोजी कार्य जारी राखेको बताएको छ । जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले सर्वसाधारणलाई पनि त्यस्तो प्रवृत्तिको मानिस देखिए तत्काल नजिकको प्रहरी निकायमा खबर गरिदिन आग्रह गरे ।

केही सातायता काठमाण्डौ उपत्यकामा भएको यसखाले घटनामा संलग्न ३० वर्षीय सन्तोष कार्कीलाई प्रहरीले पक्राउ गरिसकेको छ । पीडितले सिरिञ्ज आक्रमण भएको बताए पनि कार्कीले काँटीले घोचेको बयान दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि