२० बैशाख २०८१, बिहिबार / Thu May 2, 2024

केही समय अघिसम्म दक्षिण एशियाकै बलियो अर्थतन्त्र रहेको श्रीलङ्कामा ‘खाद्य सामग्रीको सङ्कट’


श्रीलङ्काका सरकारी खाद्य सामग्री पसलहरू रित्तिँदै गएका छन् भने धुलो दूध, अन्न र चामल जस्ता आयातित सामग्रीको सञ्चिति निकै कम छ ।
सरकारले आपूर्ति अभाव नरहेको भन्दै सञ्चारमाध्यमहरूले भय निम्त्याएको आरोप लगाएको छ ।
सरकारले सङ्कटकालको घोषणा गरेको र विदेशी मुद्रा सटहीमा सङ्कट देखा परिरहेको अवस्थामा श्रीलङ्काको केन्द्रीय ब्याङ्कका प्रमुखले राजीनामा दिएको अवस्थामा पछिल्लो घटनाक्रम विकास भएको हो ।
सरकारले के गरेको छ ?
अगस्ट ३० मा राष्ट्रपति गोटाबय राजपक्षेले अत्यावश्यक सामग्रीहरूको आपूर्तिमा कडा नियन्त्रण गरिएको घोषणा गरेका थिए ।
सरकारले व्यापारीहरूलाई खाद्य सामग्री भण्डारण कम गर्न र मूल्य वृद्धि नियन्त्रण गर्न यो कदम चालिएको बताएको थियो ।
श्रीलङ्काली मुद्राको अवमूल्यन, मुद्रास्फ्रिति र बढ्दो वैदेशिक ऋण भारसँग जुधिरहेको छ ।
केही समय अघिसम्म दक्षिण एशियाकै बलियो अर्थतन्त्र रहेको उक्त देशको आर्थिक मन्दीप्रति चिन्ता प्रकट भएका छन् । सन् २०१९ मा विश्व ब्याङ्कले श्रीलङ्कालाई मध्यम आय भएको देशमा स्तरोन्नति गरेको थियो ।
तर यही अवधिमा देशको ऋणको भार पनि बढिरहेको छ ।
सन् २०१० मा देशको कूल राष्ट्रिय आयको ३९ प्रतिशत रहेको ऋण सन् २०१९ मा बढेर ७९ प्रतिशत पुगेको विश्व ब्याङ्कले जनाएको छ ।

खाद्यवस्तुको मूल्य र आपूर्तिमा के भयो ?
आर्थिक सङ्कटका कारण कतिपय अत्यावश्यक खाद्य सामग्रीको मूल्य बढिरहेको छ । श्रीलङ्कामा कोभिड-१९ को नियन्त्रणका लागि लगाइएका कडा लकडाउनका माझ अत्यावश्यक उपभोग्य सामाग्रीहरूको खरिदका लागि मानिसहरू लामो लाइनमा बस्नुपर्ने अवस्था छ ।
हालैका महिनामा चिनी, प्याज र दालको मूल्यमा निरन्तर वृद्धि भएको छ । मे महिनामा वृद्धि भएको चामलको भाउ त्यसयता निरन्तर ओरालो लागिरहेको छ ।
सेप्टेम्बर महिनाको सुरुमा चामलको खुद्रा मूल्यमा निश्चित सीमा तोकिए पनि उक्त क्रम रोकिएको छैन । आपत्कालीन नियमहरूले सरकारलाई व्यापारीहरूबाट खरिद गरी खाद्य र अरू अत्यावश्यक सामग्री नियन्त्रित मूल्यमा उपभोक्ताहरूलाई बिक्री गर्न बाटो खोलिदिएको छ।
आपूर्ति सङ्कटका बारेमा विज्ञप्तिमार्फत श्रीलङ्काका अर्थमन्त्रीले त्यो कृत्रिम भएको बताए ।
उपभोग्य सामग्रीको अभाव हुनसक्ने अवस्थाको कडा प्रतिवाद गर्दै उनले जुनसुकै समयमा सबै अत्यावश्यक सामग्री उपलब्ध हुनेमा सरकारले आश्वस्त पार्न सक्ने बताए ।
राज्यमन्त्री अजिथ निभार्ड कब्रालले खाद्य सामग्रीको अभावबारेका मिथ्या विवरणमा विपक्षी जिम्मेवार रहेको बताए ।
तर चिनी, चामल, दाल र धुलो दूध खरिदका लागि लामो लाइनहरू देखिएका छन् ।
(बिबिसी)

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि