८ श्रावण २०८१, मंगलबार / Tue Jul 23, 2024

साकोस कोषाध्यक्ष गोष्ठी धुलिखेलमा सम्पन्न, नौ बुँदे साझा प्रतिवद्धता जारी


काठमाडौं । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा भएको दुईदिने साकोस कोषाध्यक्ष गोष्ठी सम्पन्न भएको छ । जेठ १८ र १९ गते धुलिखेलमा भएको गोष्ठीले ९ बुँदे घोषणा पत्र जारी गरेको छ । संघका अध्यक्ष रामहरी बजगाईले ९ बुँदे साझा प्रतिबद्धता जारी गर्दै ललितपुर जिल्लामा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाहरुलाई दिगो, सुरक्षित र विश्वसनीय बनाउनको लागि गोष्ठीले सघाउने बताए । संस्थागत सुशासन र कानुनको पालन गर्दै कोषाध्यक्षको परिभाषित भूमिकालाई अझै प्रभावकारी र जवाफदेही बनाउने उद्देश्यले साकोस कोषाध्यक्ष गोष्ठी फलदायी हुने उनको भनाई छ । अभियानको साख र गरिमालाई कायम राख्न अझै उच्च नैतिक ईमान्दारिताका साथ दृढ संकल्प सहित सक्रिय हुने र नीतिगत व्यवस्था पालना गर्ने गराउने प्रतिवद्धता कोषाध्यक्ष गोष्ठीले गरेको उनको भनाई छ ।

समापन कार्यक्रमा बोल्दै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका कोषाध्यक्ष दिपक थापाले वित्त सहकारी ऐन आवश्यक भएको बताए । सबै सहकारी संस्थाले बचत तथा ऋणको कारोबार गरेकाले सहकारीमा समस्या आएको उनको भनाई छ । अब बचत ऋण सहकारी र अन्य सहकारीबीच कित्ताकाट गर्ने समय आएको उनले जनाए । संस्थामा कोषाध्यक्षको भूमिका महत्वपूर्ण भएको भन्दै थापाले ऐनले नै कोषको जिम्मा दिएको जानकारी दिए । सामुहिक छलफल र प्रतिवद्धताको सहजीकरण प्रशिक्षक तेजप्रसाद बजगाईले गरेका थिए ।

साकोस कोषाध्यक्ष गोष्ठीले जारी गरेको साझा प्रतिबद्धता

१) सहकारी संस्थामा आउन सक्ने जोखिम न्युनिकरणका लागि संस्थागत सुशासन मार्फत आन्तरिक नियन्त्रण प्रणाली प्रभावकारी बनाउने ।

२ सहकारी संस्थामा कोषाध्यक्षको भूमिका प्रभावकारी बनाउनको लागि नियमित रुपमा ज्ञान, सीप र क्षमता विकास कार्यक्रम सञ्चालन गर्ने र संघले आयोजना गरेका कार्यक्रममा सक्रिय सहभागिता जनाउने ।

३। संस्थामा सदस्यहरुको सक्रिय सहभागिता, नियमित कारोवार र विश्वास अभिबृद्धि गर्नको लागि कारोवारको सुरक्षण र सेवाको गुणस्तर प्रभावकारी बनाउने ।

४।लेखापरीक्षण कार्यलाई पारदर्शी र जोखिम रहित ढङ्गबाट सम्पन्न गर्नको लागि संस्थाको आन्तरिक र बाह्य लेखापरीक्षण प्रभावकारी बनाउने ।

५। बचत तथा ऋण सहकारी संस्थाको वित्तीय अनुपातहरुको विश्लेषण गर्नको लागि उपयुक्त विधिको रुपमा स्वीकार गरी अभ्यास गरिएको विश्वासयोग्य अनुगमन प्रणालीको रुपमा स्थापित पल्र्स अनुगमन प्रणालीलाई पूर्ण रुपमा लागु गर्ने ।

६। सहकारी ऐन, नियम र सम्बद्ध कानुनले तोकेको भूमिका निर्वाह गर्न कोषाध्यक्षको सक्षमता विकास गर्ने र कानुनको परिपालनामा जोड दिने ।

७। सुरक्षित प्रविधिको प्रयोग गर्दै सदस्य मैत्री सेवाको लागि सहकारी एकीकरण, मितव्ययिता र लागत रहित कोष वृद्धि गर्ने ।

८। संस्थाले सञ्चालन गरेका कृयाकलाप र वित्तीय विवरण ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघमा नियमित रुपमा विद्युतीय वा अन्य उपयुक्त माध्यमबाट पेश गर्ने ।

९। ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मार्फत संघ,प्रदेश र स्थानीय तहसंग सहकार्य गरी सहकारीमा देखिएका समस्या न्युनिकरण, नीतिगत स्पष्टता र संस्थाको प्रर्वधन र विकास हुने कार्यक्रमहरु सञ्चालन गर्ने ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि