२८ बैशाख २०८१, शुक्रबार / Fri May 10, 2024

‘अटल पाँचकुण्ड साकोस निति, नियममा सञ्चालित भएकाले सबल र सुरक्षित छ’


श्रीराम तिमल्सिना
व्यवस्थापक, अटल पाँचकुण्ड साकोस

धुलिखेल नगरपालिका वडा नं. ४, २८ किलोमा केन्द्रीय कार्यालय रही सञ्चालित अटल पाँचकुण्ड बचत तथा ऋण सहकारी संस्था लि. काभ्रे जिल्लाको एक सदस्यमुखी संस्था हो । आ.व. २०६५÷०६६ मा स्थापना सानो पूँजीबाट सञ्चालन भएको संस्थाले हालसम्म ३२ करोडभन्दा बढी पूँजी निर्माण गरिसकेको छ । २०७३ चैत्र १५ गते अटल बचत तथा ऋण सहकारी संस्था लि. र पाँचकुण्ड बचत तथा ऋण सहकारी संस्था मर्ज भई अटल पाँचकुण्ड साकोस बनेको हो । संस्थाका व्यवस्थापक श्रीराम तिमल्सिना भन्नुहुन्छ – सदस्यको साथ, सहयोग र विश्वासले नै संस्था यो अवस्थासम्म पुगेको हो । संस्थाको सदस्यमुखी र सेवाको भावनाले गर्दा यो आर्थिक संकटको बेलामा पनि केही असर नपरेको उहाँ बताउनुहुन्छ । संस्थाले हाल धुलिखेल र बनेपा नगरपालिकालाई कार्यक्षेत्र बनाई सञ्चालन भईरहेको छ । संस्थाका व्यवस्थापक श्रीराम तिमल्सिनासँग संस्थाको हालको अवस्था, युवाको सहभागिता, प्रविधिको प्रयोग र आर्थिक संकटले सहकारी क्षेत्रमा परेको असरका विषयमा मिडिया क्लब नेपालले गरेको कुराकानी यहाँ संक्षेपमा प्रस्तुत गरिएको छ :

१) अटल पाँचकुण्ड बचत तथा ऋण सहकारी संस्थाको अहिलेको अवस्था के छ ?
हाल देखिरहेको आर्थिक मन्दिको प्रभाव प्राय सबै क्षेत्रमा परिरहेको अवस्था छ। अझ अहिले सहकारीहरुको विभिन्न समाचारहरुले गर्दा सबै सहकारीहरु प्रति सदस्यहरुको विश्वास घटेको पाईन्छ। कतिपय संस्थाहरु संचालकको कारण समस्याग्रस्त पनि छन जो सहकारीको मापदण्ड विपरित चलिरहेका छन। सदस्य सेवा नभई व्यवसायिक रुपमा चलेका संस्थाहरुको कारण अहिलेको अवस्था सिर्जना भएको हो । तर यस अटल पाँचकुण्ड साकोसले यस्तो परिस्थितिमा पनि सदस्यहरुको बचतको सुरक्षा, सदस्यहरुको सेवा निर्वाध रुपमा गर्न सक्षम रहेको कुरा यस संस्थामा आवद्ध सम्पूर्ण सदस्यज्यूहरुलाई यसै मार्फत जानकारी गराउन चाहन्छु। नितान्त सामुदायमा आधारित रहेको यस संस्थाले सदस्यको हितको लागि काम गरिरहेको छ र गरिरहने छ ।

२) शहरी क्षेत्रका कतिपय संस्थाले सदस्यको बचत फिर्ता गर्न नसक्दा सहकारीप्रति अविश्वासको वातावरण पैदा भएको छ । यसले गर्दा सहकारीमाथि नै प्रश्न चिन्ह उठेको छ । अटल पाँचकुण्ड साकोसको हालको अवस्था के छ ?
सहकारीको क्षेत्रमा हाल जनमानसमा सहकारीप्रति जुन एउटा अविश्वासको वातावरण पैदा भएको छ यो स्वभाविक पनि हो। किनकि आफ्नो मिहिनेतको धनको माया सबैलाई हुन्छ। तर पनि यो कुरामा मेरो बुझाई कस्तो छ भने कतिपय सहकारीहरु व्यक्तिगत फाईदाका लागि संचालन गरिए र त्यसका संचालकहरुले बेइमानी गरे, कतिपय सहकारीहरु सदस्यहितकै लागि संचालन भईरहेका छन तर वित्तिय मापदण्ड, सहकारीको वास्तविक मुल्यमान्यताको शिक्षाको कमिका कारण हाल समस्यामा छन्। यस्तो अवस्थामा सदस्यहरुले प्रतिफलको (व्याजको) लोभ भन्दापनि आफ्नो बचतको सुरक्षाको लोभ गर्नुपर्दछ। संस्थाको बारेमा पुरा जानकारी लिनुपर्दछ। अटल पाँचकुण्ड साकोसमा पनि प्रभाव नपरेको होईन तर हामी नियममा छौँ, सदस्यको बचतको सुरक्षा र सेवा सुविधा कसरी प्रभावकारी बनाउने विषयमा चिन्तित छौँ। जुन कुराले गर्दा अटल पाँचकुण्ड साकोससुरक्षित रुपमा चलिरहेको छ। सदस्यज्यूहरुलाई पनि कुनै दुविधामा नरहन आग्रह गर्दछु ।

३) सहकारी ऐनमा दोहोरो सदस्यता सम्बन्धी प्रावधान राखिएको छ, त्यसमा यहाँको राय के छ ?
दोहोरो सदस्यता सम्बन्धी प्रावधान सदस्यको हितकै लागि हो। अहिले सदस्य धैरै संस्थामा सदस्य बन्ने अनि एउटाबाट ऋण लिने र अर्को ऋण मिलाउने जसले गर्दा सदस्यको आर्थिक अवस्थामा कुनै प्रगति नै हुँदैन। यो सहज त छैन तर पनि कुनै पनि संस्थाले ऋण लगानी गर्दा अर्को संस्थामा ऋण भएको नभएको जानकारी लिने जस्ता कामहरु गर्नुपर्ने देखिन्छ। तर आफ्नो सदस्य कसैले गुमाउन चाहँदैन। त्यसैले सम्बन्धित निकायले एक भन्दा बढि संस्थाबाट ऋण चलाउन नपाउने व्यवस्था लागू गरिदिए यसको समाधान निस्कने थियो।

४) सहकारी संस्थामा युवा सहभागिता कम देखिन्छ नि, सहभागिता बढाउन सहकारी अभियानले केकस्ता गतिविधि गर्नुपर्छ ?
विश्वमा धेरै विकास र परिवर्तन भैसकेको छ। विकास सगँै चाहनामा पनि परिवर्तन आउनु नौलो कुरा होईन। यसै सँगै युवाहरुको सहभागिता बढाउन आवश्यकताको पहिचान गर्ने, प्रविधिको प्रयोग व्यापक बनाउने, युवा लक्षित कार्यक्रमहरु आयोजना गर्ने जसले गर्दा सहभागिताको लागि प्रेरणा मिलोस, सहकारी सम्बन्धी शिक्षा मिलोस । जुनसुकै पूस्ता भएपनि आवश्यकताको आधारमा सेवा प्रदान गरियो भने सहभागिता चाहे अनुरुप गराउन सहज हुन्छ।
५) संस्थाको हालको समग्र वित्तीय अवस्था के छ ?
 सहकारी विभागले सदस्यको बचतको लागि जुन मापदण्ड दिएको छ यस संस्थाले पूर्ण रुपमा पालना गरेको हुँदा अटल पाँचकुण्ड साकोसको वित्तिय अवस्था सदस्यज्यूहरुको लागि सरल भाषामा भन्नुपर्दा कुनै चिन्ता गर्नुनपर्ने ,राम्रो र सुरक्षित रहेको छ । सहकारी विभागको निर्देशन अनुसार सदस्यको जानकारीका लागि प्रत्येक महिना सामाजिक सञ्जाल, संस्थाको वेवसाईटमा मासिक प्रतिवेदन राखिने गरिएको छ ।

६) अटल पाँचकुण्ड साकोसमा सदस्य बनेपछि पाउने सेवा सुविधाहरु के–के छन् ?
अटल पाँचकुण्ड साकोस सदस्यहरुको सुख दुखको साथी बनेको छ। यस संस्थाले सदस्यहरुको लागि विभिन्न खालका सेवा तथा सुविधाहरु दिदैँ आएको छ। सर्वप्रथम संस्थाले सदस्यहरुको बचतको सुरक्षाको पूर्ण ग्यारेन्टि गर्दछ। प्रत्येक बार्षिकोत्सवको अवसरमा जेष्ठ सदस्यहरुको सम्मान, सदस्यको मुत्यु भएमा परिवारलाई राहत सहयोग रु २५००० तथा सदस्यलाई दिर्घ रोग लागेमा उपचारका लागि रु २०००० आर्थिक सहयोग, रु १००००० बराबरको निशुल्क दुर्घटना विमा, महिला सदस्यहरु सुत्केरी भएको अवस्थामा सुत्केरी भेटघाट बापत रु ३००० रकम र खुत्रुके प्रदान, बाल बचतकर्ताहरुको कपी पेन्सिल वितरण, कृषिमा आवद्ध सदस्यहरुको लागि कार्यक्रमहरु, कक्षा १२ उत्तीर्ण सम्मान, महिला दिदी बहिनी भेटघाट कार्यक्रम, प्रत्येक बर्ष सदस्यहरुलाई धार्मिक स्थलहरुको अवलोकन, बनभोज कार्यक्रम, निशुल्क स्वास्थ्य शिविर, रेमिटयान्स सेवा, एस.एम.एस सेवा जस्ता सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।

७) संस्थाले सदस्यलाई कसरी सेवा प्रदान गर्दै आएको छ ?
सदस्य केन्द्रित संस्था भएको हँुदा सदस्यको बचत लिने , ऋण लगानी गर्ने, संस्थाको हरेक गतिविधिको जानकारी सदस्यहरुलाई विभिन्न माध्यमबाट गराउने, कर्मचारीहरुबाट सभ्य र सहज तरिकाबाट सेवा प्रदान गर्ने, सदस्यहरुको सहजताको लागि प्रविधिको प्रयोग गर्दै आवश्यकता अनुसारको सेवा पहिचान गर्दै संस्थाले सदस्यलाई सेवा प्रदान गर्दै आएको छ ।

८) संस्थाको आगामी योजना के छ ?
 संस्थाको विकास र सदस्यहरुलाई अझ प्रभावकारी सेवा प्रदान कसरी गर्ने भन्ने नै संस्थाको मुख्य योजना हो ।

९) ….. अन्त्यमा ?
अन्त्यमा सहकारी भनेको सहकार्य सहितको सदस्यको हितको लागि स्थापित संस्था हो।सहकारीले समान व्यवहारको अवधारणा पालन गर्दछ। हरुेक सदस्यको बराबर अधिकार र जिम्मेवारी पनि हुन्छ। यसको अर्थ संस्थाको विकास, उन्नती र प्रगातिको लागि सदस्यहरुको पनि भुमिका रहेको हुन्छ। प्रलोभनमा नपरि कारोबार गर्दा संस्था बुझेर गरौँ। विभिन्न परिस्थितिमा पनि साथ र सहयोग गर्नुहुने यस संस्थामा आवद्ध सम्पूर्ण सदस्यज्यूहरु, साथै सम्पूर्ण टिमलाई आभार प्रकट गर्न चाहन्छु र आगामि दिनहरुमा सहयोगको अपेक्षा गर्दछु ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि