१२ बैशाख २०८१, बुधबार / Wed Apr 24, 2024

सहकारी विभाग र राष्ट्र बैंकको अनुगमनमा राम्रो देखियो ‘बुडोल सामुदायिक साकोस’


अनुगमन गरिएका नौ सहकारीमध्ये तुलनात्मक रूपमा काभ्रेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था राम्रो देखिएको छ ।

काठमाडौं । संघीय सहकारी विभागले राष्ट्र बैंकको प्राविधिक जनशक्तिको सहयोगमा नौ वटा सहकारी संस्था अनुगमन निरीक्षण सम्पन्न गरी अनुगमन टोली प्रतिवेदनको तयारीमा रहेको छ ।
राष्ट्र बैंकका प्रतिनिधिसहितको संयुक्त टोलीले काठमाडौं, ललितपुर र काभ्रेपलाञ्चोकमा सञ्चालित सात प्रारम्भिक संस्थासहित नौ सहकारी अनुगमन गरेको थियो । सहकारी विभागका उपरजिस्ट्रार टोलराज उपाध्यायको नेतृत्वमा तीन फरक टोली बनाएर ती नौ सहकारी अनुगमन गरिएको थियो । अनुगमन नेतृत्व सहकारी विभाग उपरजिस्ट्रार उपाध्यायले गरेका थिए । अनुगमनका लागि राष्ट्र बैंकले उपनिर्देशक डा. रमेश चौलागाईं, गैरबैंकिङ वित्तीय संस्था विभागका रामकृष्ण राई र लघुवित्त विभागका रमेश पौडेललाई पठाएको थियो ।
अनुगमन टोलीले काभ्रेका बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था, बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था र सामुदायिक बचत तथा ऋण सहकारी संस्था अनुगमन गरेको हो । त्यस्तै काठमाडौंको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था, देवदर्शन बचत तथा ऋण सहकारी संस्था, नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था, शुभरत्न बचत तथा ऋण सहकारी संस्था र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) अनुगमन गरेको हो ।
अनुगमन गरिएका नौ सहकारीमध्ये तुलनात्मक रूपमा काभ्रेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था राम्रो देखिएको छ । उक्त संस्थामा सञ्चालकले कर्जा दुरुपयोग नगरेको तथा कर्जा लिएकाहरूले पनि समयमा चुक्ता गरेको देखिएको स्रोतको दाबी छ ।
बुडोल सामुदायिकमा पनि यस्ता कार्यक्रमहरूको दायित्व भोलिका दिनमा संस्थाले धान्न सक्छ कि सक्दैन भनेर अनुगमन टोलीले प्रश्न गरेको थियो । बुडोल सामुदायिक समुदायमा केन्द्रित भएर नै काम गरीरहेको देखिएको र संस्थामा सञ्चालक समिति, लेखा सुपरीवेक्षण समितिले सक्रिय रूपमा नै काम गरेको देखिएकाले तुलनात्मक रूपमा राम्रो देखिएको स्रोतको दाबी छ । सञ्चालन खर्च तुलनात्मक रूपमा न्यून भए पनि संस्थाका प्रडक्टहरू भने दिगो किसिमका नदेखिएको स्रोतले बतायो । बुडोल सामुदायिकमा सञ्चालक र व्यवस्थापकले कर्जा दुरुपयोग नगरेको अनुगमन टोलीले भेटेको छ । सम्पूर्ण विवरण पारदर्शी राखेर तथा तलबभत्ता पनि महत्वाकांक्षी नदेखिएको अनुगमन टोलीले भेटेको थियो । बुडोल सामुदायिकलाई नमुना सहकारी मान्न सकिने देखिएको विभाग स्रोतले बतायो ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ र राष्ट्रिय सहकारी बैंकमा समस्याग्रस्त संस्थामा गरेको लगानी असुली हुन नसक्ने जस्ता समस्या देखिएको छ । ती संस्थामा पनि सन्तुष्ट हुने अवस्था नदेखिएको अनुगन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि