३१ बैशाख २०८१, सोमबार / Mon May 13, 2024

जनसचेतन साकोसको ३० औं साधारण सभा सम्पन्न, जेष्ठ सदस्यलाई आजिवन भत्ता


दोलखा । बैतेश्वर गाउँपालिका वडा नं. ५ मैनापोखरीमा केन्द्रीय कार्यालय रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको ३० औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले कार्तिक १७, १८ र २० गते सदस्यहरुको सहजताको लागि विभिन्न सेवा केन्द्रहरुमा क्षेत्रगत रुपमा साधारण सभाको आयोजना गरी समापन गरेको हो ।

साधारण सभा बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालको प्रमुख आतिथ्ययतामा सम्पन्न भएको हो । साधारणसभामा शुभकामना मन्तव्य राख्दै मन्त्री लम्सालले सहकारी संस्थाले ऋण लगानी गर्दा उत्पादनमा जोड दिनुपर्ने बताए । उनले भने — “सहकारीको माध्यमबाट जनताको जिविकोपार्जनमा टेवा पुर्याउनु पर्छ साथै सदस्यलाई पनि आत्मनिर्भर बनाउन तर्फ लगानी वृद्धि गर्दै जानुपर्छ ।“

संस्थाको मुख्य कार्यालय मैनपोखरीमा आयोजना गरिएको साधारण सभा प्रमाणिकरण कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष हेमन्त कुमार चौलागाईले सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक स्तरवृद्धि गरी समुनत समाज निर्माण गर्ने लक्ष्य संस्थाले राखेको बताए । संस्थाको छैटौं रणनीतिक व्यवसायिक योजनाबाट ‘प्रविधियुक्त प्रतिस्पर्धी सुरक्षित वित्तीय सहकारी संस्था’ को परिकल्पना गरी अगाडी बढेको समेत उनले जनाए । संस्थाले सदस्यहरुलाई सदस्य सुरक्षाकोष, सामाजिक संस्कार खर्च, जनसचेतन आजीवन सहारा, गरिबसँग जनसचेतन, सदस्यहरुलाई शिक्षा तथा तालिम, गरिब जेहेन्दार विद्यार्थी छात्रवृति, विभिन्न विधामा सदस्य सम्मान तथा पुरस्कार, स्वास्थ्य उपचार तथा प्राकृतिक प्रकोपमा सहयोग एंव लघुवित कार्यक्रम सञ्चालन गरी सदस्यहरुलाई सेवा पुर्याउदै आएको उनले बताए । सञ्चालक समितिको तर्फबाट आर्थिक बर्ष २०७९।८० को प्रगती समिक्षा, समग्र आिर्थक कारोवार, संस्थाले हाँसिल गरेका उपलब्धी र भावी योजना तथा प्रस्तावहरु उनले सभामा प्रस्तुत गरेका थिए ।

संस्थामा गत असार मसान्तसम्म २७ हजार ६०८ सदस्य र १० हजार ३३५ जना बाल सदस्य गरी ३७ हजार ९४३ कुल सदस्य रहेको उनले बताए । त्यसैगरी संस्थाको शेयर पुँजी १६ करोड ६७ लाख, जगेडा तथा अन्य कोषमा २१ करोड ९३ लाख, बचत संकलन १ अर्ब ६३ करोड र ऋण लगानी १ अर्ब ८२ करोड २७ लाख रहेको उनले सभामा जानकारी दिए । संस्थाले त्यस अवधिमा कुल सम्पत्ति २ अर्ब २५ करोड ६० लाख पुर्याउन सफल भएको छ भने १ करोड ७८ लाख ४७ हजार खुद बचत आर्जन गरेको छ । संस्थाले गत असार मसान्तसम्म १०३ जना जेष्ठ सदस्यलाई ५ लाख ७८ हजार जनसचेतन आजीवन सहारा भत्ता प्रदान गरेको छ । त्यसैगरी संस्थाले सदस्य सुविधा कार्यक्रम अन्तर्गत यस आर्थिक बर्षदेखि क्यान्सर, प्यारालाइसिस, मृर्गाैला तथा मुटु प्रत्यारोपण, ब्रेन ट्युमरको उपचार गर्नु परेमा बढीमा १० हजारसम्म उपलब्ध गराउने भएको छ । १८ बर्ष देखि ४५ बर्ष उमेर समुहका सदस्यहरुले उद्योग सञ्चालन गरेमा त्यस्ता उद्योग सञ्चालन गर्ने ऋणी सदस्यहरुलाई २ प्रतिशत कम ब्याजदरमा ऋण प्रदान गर्ने भएको छ ।

त्यसैगरी विभिन्न संघ संस्थाहरुसँगको सहकार्यमा सदस्यहरुको आम्दानी बढाउन व्यवसायिक तथा विभिन्न सिपमुलक तालिम र ऋणको बीमा गर्ने कार्य सुरु गर्ने भएको छ । विद्यालय तथा क्यापसमा वित्तीय साक्षरता कार्यक्रम, सेवालाई छिटो, छरितो र कागजरहित बनाउन इ—टेलर र क्युआर कोड सञ्चालन, मासिक बचत खातामा १ लाख न्युुनतम रकम हुने सदस्यको लागि स्वास्थ्य बीमा, संस्थाबाट ऋण लिई नमुना योग्य कृषि तथा पशुपालन सम्बन्धी व्यवसाय गर्ने सदस्यहरुलाई शुन्य लागत कोषको १० प्रतिशतले हुने रकम सहुलियत दरमा ऋण लगानी गर्ने कार्य सुरु गर्ने अध्यक्ष चौलागाईले बताए ।

सभामा लेखा सुपरीवेक्षण समितिका संयोजक मिनप्रसाद दाहालले समितिको प्रतिवेदन सभामा प्रस्तुत गर्दै सदस्यहरुमा उद्यमशीलता विकास गर्न व्यवसायिक तालिम प्रदान गर्न र सदस्यहरुलाई सहकारी तथा वित्तीय साक्षतरता शिक्षा दिन सुझाव दिए । साधारण सभाको अवसरमा संस्थाले विभिन्न विधामा शेयर सदस्यलाई सम्मान गर्नुको साथै जेष्ठसदस्यलाई स्टिलको लौरो वितरण गरेको थियो ।

संस्थाले मुख्य कार्यालय सहित १६ वटा सेवा केन्द्रबाट सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । संस्थाले सदस्यको माग र आवश्यकता अनुसार विभिन्न १४ प्रकारका क्षेत्रमा ऋण लगानी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि