२१ बैशाख २०८१, शुक्रबार / Fri May 3, 2024

‘कोरोना भाइरसको संक्रमणबाट भएको मृत्यु भन्दा धेरै छ आत्महत्या गर्नेको संख्या’


काठमाडौं । आर्थिक वर्ष २०७७/७८ कोे वैशाख मसान्तसम्म अर्थात चालु आर्थिक वर्षको १० महीनामा मात्रै ५ हजार ६७३ जनाले आत्महत्या गरेका छन् ।
नेपालमा कोरोना महामारीको पहिलो लहर शुरू भएदेखि महामारीको दोस्रो लहर शुरू भएपछिको २०७८ वैशाख मसान्तसम्म कोरोना संक्रमणका कारण करीब ४ हजार ६६९ जनाको ज्यान गएको थियो । कोरोना संक्रमणबाट मृत्यु हुनेको भन्दा आत्महत्या गर्नेको संख्या १ हजार ४ जनाले बढी छ ।
यो आर्थिक वर्षमा आत्महत्या गर्नेको संख्या बढेको प्रहरीको तथ्यांकले देखाउँछ । प्रहरीको तथ्यांक अनुसार गत आर्थिक वर्षको वैशाखसम्म र चालु आर्थिक वर्षको वैशाखसम्म आत्महत्या गर्नेको संख्या तुलना गर्दा करीब डेढ प्रतिशतले बढेको देखिएको छ ।
कोरोना महामारीको असर आत्महत्याको तथ्यांकमा देखिन थालेको विज्ञहरुले बताउँछन् । कोरोना महामारीको संक्रमण नियन्त्रण गर्न सरकारले २०७६ चैत ११ मा गरेको लकडाउनका कारण सबै क्षेत्र ठप्प भएको थियो । लामो समयको लकडाउनका कारण रोजीरोटी खोसिएका, आर्थिक समस्या भोग्नुपरेका, बेरोजगारी लगायत समस्याले मानसिक समस्या बढाउने र यसले आत्महत्यासम्मको परिणाम ल्याउन सक्नेतर्फ मनोविद्, मनोचिकित्सकहरूले औंल्याएका थिए ।
आत्महत्या गर्नेको संख्या बढ्नुमा कोरोना महामारीले ल्याएको आर्थिक संकट, बेरोजगारी, त्यसले निम्त्याएको घरेलु हिंसा जस्ता कारण देखिन्छ । यो अझै बढ्न सक्ने जोखिम कायमै छ ।
आर्थिक, सामाजिक, मानसिक, पारिवारिक लगायत तनावले आत्महत्यालाई निम्त्याउने मनोविद्हरु बताउँछन् ।
आत्महत्याको दर बढ्न नदिने मुख्य दायित्व राज्यको हो । शारीरिक स्वास्थ्य उपचारको सुविधा जत्तिकै मानसिक स्वास्थ्य समस्याको सुविधा राज्यले दिने हो भने धेरै हदसम्म आत्महत्याको दर कम हुने मनोचिकित्सकहरू बताउँछन् । तर सरकारले यसबारे केही कदम चालेको छैन । सत्तामा लुप्त नेताहरु जनताको स्वास्थ्यप्रति उत्तरदायि छैनन् ।

मनोविद् डा. करुणा कुँवरका आत्महत्या हुन नदिने टिप्स :

आत्महत्याको दर बढ्न नदिनुमा राज्यसँगै मुख्य भूमिका परिवारको हुने गर्छ । परिवारका सदस्यलाई मानसिक स्वास्थ्य समस्या बारेमा परिवार पनि सचेत एवं सजग हुन जरूरी छ ।
परिवारमा परेको पीडा एकअर्कासँग साट्ने, खुलेर कुरा गर्ने बानी बसाल्नुपर्छ । मानसिक तनाव बढ्दै जाँदा डिप्रेसन हुन सक्छ । डिप्रेसनको बारेमा खुलेर कुरा गर्ने, उपचारका लागि लग्नुपर्छ । त्यसो गर्न सकियो भने सम्बन्धित व्यक्तिलाई आत्महत्या गर्नबाट बचाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि