२१ बैशाख २०८१, शुक्रबार / Fri May 3, 2024

‘सृष्टिकर्ता आमाहरुप्रति सम्मान’


- दीपक तिमल्सिना

आमाको सम्मान गर्ने दिन अर्थात आमा दिवस मनाइरहेका छौं हामी । ‘मातातीर्थ औँसी’ एउटी नारी अर्थात आमाले पुर्‍याएको योगदान र उत्तरदायित्वको स्मरण गर्दै सम्पूणर् आमाहरुको सम्मान गर्ने दिन हो ।
मातृ भनेका सृष्टिकर्ता हुन, सृष्टिकर्ताको मन, वचन र कर्मले सम्मान गर्नुपर्दछ ।
‘मातातीर्थ औँसी’ लाई विशेषत मातृ अर्थात महिलाहरुको सम्मान गर्ने विशेष दिनको रुपमा लिन सकिन्छ । नेपाली मौलिक संस्कार र हाम्रो मान्यतामा पनि आमाबुबा, गुरुवर्ग र अतिथिलाई देवता सरह मान्र्नुपर्दछ भन्ने धारणा छ । पूर्वीय संस्कारमा मातृ र मातृभूमिलाई स्वर्गभन्दा पनि महान भनेर अर्थ लगाइएको छ, हाम्रो दर्शनले हामीलाई सिकाएको कुरा यथार्थ पनि हो । अहिले पूर्वीय समाजले मात्र हैन पश्चिमा राष्ट्रहरुले समेत यसको अनुशरण गर्न थालिसकेका छन् । पूर्वीय शास्त्रमा ‘जननी जन्म भूमिश्च स्वर्गदपि गरीयशी’ भनिएको छ, त्यस्तै शास्त्रमै भनिएको छ – ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता’ अर्थात जहाँ नारीको सम्मान हुन्छ, पूजा हुन्छ त्यहाँ देवताहरु पनि खुशी हुन्छन् ।
साधारण बोलीचालीमा यो पर्वलाई ‘आमाको मुख हेर्ने दिन’ भन्ने गरिन्छ । यस दिनमा आमालाई केही न केही उपहार दिएर, मिष्ठान्न भोजन गराएर खुशी राख्ने प्रचलन छ ।
‘मातातीर्थ औँसी’ मातृलाई सम्मान गर्ने दिन हो तर के नेपालमा मातृको सम्मान भएको छ त ? भन्ने प्रश्न चाहिँ सधैँ मनमा घुमिरहन्छ । ‘मातातीर्थ औँसी’ अर्थात मातृ दिवसलाई नेपालमा हल्का रुपमा लिने गरिन्छ । पश्चिमा देशहरुले समेत हाम्रो संस्कारको सिको गरे ‘मदर्श डे’ मनाइरहेका छन् ।
यो वर्ष वैशाख २८ गते ‘मातातीर्थ औँसी’ अर्थात माृत दिवस मनाइँदै छ ।
नेपालको पारिवारिक बनावटमा आएको परिवर्तनको प्रत्यक्ष असर चाहिँ हाम्रा परम्पराहरुमा परेको छ । उदाहरणका लागि मातृ दिवसलाई नै पनि लिन सकिन्छ । वृद्ध माता पितालाई बृद्धाश्रममा छोडेर या घरमै छोडेर छोराछोरीहरु बिदेशमा गएका हुन्छन् र मातापिताहरुले परिवारबिहीन र एक्लो महसुश गर्नु पर्ने स्थिति बढ्दै गइरहेको छ, हाम्रो परम्पराविपरित एक्लोपनको आभाश गराउने माताहरुलाई एक दिनको सम्मानले मात्र मातृ दिवस र मातृ प्रतिको दायित्व पूरा हुन सक्दैन ।
छोराछोरीको दायित्व भनेको माता पिताको जीवनलाई ऊर्जा प्रदान गर्नु पनि हो । आमाको सम्मान गर्ने परम्परा हामी बाटै सिकेर विश्वका बिभिन्न देशमा बिभिन्न किसिमले मनाउने गरेको पाइन्छ । जसरी-जसरी मनाए पनि यसको अन्तरवस्तु भने आमाको आदर सम्मान गर्नु नै हो । कतिपय देशहरुमा ‘मदर डे’ मनाउनका लागि बिदा नै पनि दिने चलन छ । विश्वका सबै महादेशका विभिन्न देशहरुमा विभिन्न किसिमले आमाको सम्मान र श्रद्धा गर्ने प्रचलन रहेका पाइन्छ । विश्वमा मातृ पूजाको यो रीति व्यापक रहेको छ, तर हामी नेपाली यसलाई खुम्च्याउन तिर लागेको छौँ ।

‘मातृ दिवस पारिवारिक तथा सामाजिक सम्वन्धलाई जीवन्त राख्ने र सामाजिक सद्भावलाई कायम राख्ने आधार स्तम्भ हो’

मातृको सम्मान गर्नु एउटा राम्रो परम्परा हो । यो परम्परा पारिवारिक तथा सामाजिक सम्बन्धलाई जीवन्त राख्ने र सामाजिक सद्भावलाई कायम राख्ने आधार स्तम्भ पनि हो ।
यो परम्परा कुनै जाति, धर्म विशेष छैन, सबैले जाति, धर्म र वर्गले आफ्नो मातृको सम्मान गर्दै मनाउन सक्छन र सम्पूणर् मानव जातिले आफ्नो मातृको उच्च सम्मान गर्नु पनि पर्दछ । तर पनि यो पर्वलाई विशेष जाति तथा धर्म विशेष बनाउन भने पक्कै खोजिएको छ । यो परम्पराले सबै धर्म र सम्प्रदायका लागि उत्तिकै महत्वपूणर् छ, यसलाई जोगाई राख्न सके पक्कै कालान्तरमा पनि सकारात्मक परिणाम नै दिन्छ ।
आज पनि हामी महिला, बालबालिकाको हक र अधिकारको मुद्दा उठाइरहेका छौं । महिला हक, अधिकारको रक्षा र उनीहरुको सम्मानको लागि मातृको सम्मान गर्ने ‘मातातीर्थ औँसी’ उच्च सम्मानसहित निरन्तरता दिन सकियो भने हाम्रो समाजमा महिलाको उच्च सम्मान हुन्छ ।
यो परम्पराबाट नेपाली समाजले विश्वलाई नै सन्देश दिईरहेको छ । ‘मातातीर्थ औँसी’ लाई एक दिन मात्र दर्शाउने प्रेम भन्दा पनि परिवर्तित युगमा जीवन्त रहने गरी मनाउन सकियो भने यसले युगौँसम्म जीवन्तता पाउँछ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि