विशिष्ट इतिहास बोकेको नेपाल-चिन जोड्ने कोदारी राजमार्गमा सङ्कटै सङ्कट (हेर्नुहोस् विस्तृतमा)


सिन्धुपाल्चोक । नेपाल-चिन जोड्ने कोदारी राजमार्ग विशिष्ट इतिहास बोकेको राजमार्ग हो । पछिल्लो समय सिन्धुपाल्चोक आसपासका क्षेत्रहरू विभिन्न प्राकृतिक विपद्को शिकार भइरहँदा त्यसले नेपाल र चीन जोड्ने ऐतिहासिक अरनिको राजमार्गलाई सङ्कटमा पारिरहेको छ ।
कोदारी राजमार्ग अन्तर्गत बाह्रबिसेभन्दा माथि चीनको सीमावर्ती क्षेत्रसम्म जोड्ने सडक खण्डको दीर्घकालीन पुनर्निर्माणको आवश्यकता रहेको विज्ञहरु बताउँछन् ।
हाल नेपाल चीन मितेरी पुल नजिक रहेको लिपिङमा एउटा अर्को पुल नदी कटानका कारण क्षतिग्रस्त हुँदा भरियाहरूले सामान बोकेर सीमा वारपार गराउनुपर्ने अवस्था छ ।
विक्रम संवत् २०७२ को भुँइचालो अघि नेपाल चीन व्यापारको केन्द्र रहेको उक्त क्षेत्र भूकम्पमा ठूलो धनजनको क्षति भएसँगै शिथिल बन्दै गएको छ ।
सरकारी तथ्यांकअनुसार भूकम्पपछि तीन वर्ष बन्द भएको उक्त नाकाबाट पछिल्लो समयमा राजश्व सङ्कलनमा भारी गिरावट आएको छ ।
२०७२ सालको विनाशकारी भूकम्प र त्यसपछि जुरेमा गएको पहिरोपछि उक्त सडक खण्डको पुनर्निर्माणको जिम्मेवारी चीन सरकारलाई दिइएको छ ।
पोहोर सालको असारमा एकै पटक उक्त सडक खण्डमा भीषण वर्षापछि १७/१८ ठाउँमा सडक बगाएको थियो ।
त्यसबेला डिभिजन सडक कार्यालय चरिकोटले पुनर्निर्माणका लागि करिब १ अर्ब ७५ करोड रूपियाँ लाग्ने लागत पठाएको भएपनि सरकारले नेपाल र चीन दुवै पक्षले मिलेर सडक बनाउने निणर्य लिएका थिए ।
चिनियाँ पक्षले प्रक्रिया पूरा गरेर यसपालि चैत वैशाख महिनामा बल्ल काम सुरु गरेकाले पनि राम्रोसँग मर्मत हुन पाएको छैन ।

यस्तो छ कोदारी राजमार्गको इतिहास :

निर्वाचित सरकारलाई अपदस्थ गरी तत्कालीन राजा महेन्द्रले सन् १९६१ मा चीनको भ्रमण गर्दा काठमान्डू कोदारी सडक निर्माणबारे नेपाल र चीनबीच सम्झौता भएको थियो ।
सुरक्षा र रक्षा संवेदनशीलता जोडिएको भन्दै उक्त सडक निर्माणबारेको सहमतिलाई लिएर त्यसबेला कतिपय भारतीय अखबारहरूले आवाज उठाएका थिए ।
त्यहाँको संसद्मा समेत कुरा उठेको भएपनि भारतले औपचारिक रूपमा मौनता साँधेको ‘प्रोसिडिङ्स अफ द इन्डियन कंग्रेस’मा छापिएको छ ।
उक्त सडकलाई लिएर उठेका आशङ्काहरूलाई लक्षित गर्दै तत्कालीन राजा महेन्द्रले ‘साम्यवाद मोटर चढेर आउँदैन’ भन्ने धारणा राखेका थिए ।
सन् १९६२ मा चीन र भारतबीच भएको युद्धसँगै यस क्षेत्रको भूराजनीति तरङ्गित बनेको थियो ।
त्यसपछि नेपालले भारतसँगको निर्भरता कम गर्ने र परराष्ट्र सम्बन्ध थप विस्तार गर्ने रणनीति अख्तियार गरेको विभिन्न लेखकहरूले चर्चा गरेका छन् ।
सन् १९६४ मा चीन भ्रमणमा गएको एउटा नेपाली प्रतिनिधिमण्डल समक्ष चिनियाँ नेता माओले भारतसँग नेपाललाई जोडेर उक्त सडकको रणनीतिक महत्वबारे टिप्पणी गरेको बताइन्छ ।
“जब यो सडक खुल्छ, भारतले तपाईहरूसँग अलिकति बढी सम्मानजनक व्यवहार गर्न सक्नेछ” माओले नेपाली प्रतिनिधिमण्डललाई भनेको उद्धृत गर्दै उनको विचारधारा सम्बन्धी एउटा पुस्तकमा उल्लेख गरिएको छ ।
वर्षको १२ महिना नै सञ्चालनमा ल्याउन सकिने गरी उक्त सडकको निर्माण सन् १९६७ मा सम्पन्न भएको थियो ।
अमेरिकी अखबार द न्यूयोर्क टाइम्सले सन् १९६४ को फेब्रुअरीमा छापेको एउटा लेखमा नेपालको त्यस बेलासम्मकै सबैभन्दा ठूलो श्रम शक्ति उक्त सडक निर्माणमा लागेको उल्लेख गरेको थियो । करिब १२ हजार नेपाली कामदार र ५० जना चिनिया इन्जिनिअर काठमान्डू कोदारी सडक निर्माणमा त्यसबेला खटिएको उल्लेख गर्दै उक्त अखबारले नेपाली इन्जिनियरहरूसँग खासै अनुभव नभएकाले चिनियाँ खाकामा नै सडक निर्माणको काम अघि बढेको उल्लेख गरेको छ ।
त्यसबेला चीन र तिब्बतमा १५ देखि २० वर्ष सडक बनाएका इन्जिनियर अरनिको राजमार्ग निर्माणका लागि खटिएको उक्त अखबारले जनाएको छ । करिब एक सय १४ किलोमिटरको उक्त सडक मार्ग हुँदै सन् १९८० को दशकको अन्त्यतिर चीनबाट नेपालमा ‘एन्टी एअर क्राफ्ट गन’ सहितका हतियारहरू भित्रिएको
बताइन्छ । चीनबाट सुरक्षा सामग्री भित्र्याउन त्यसबेला उक्त सडक खण्डमा अरू सवारी साधनको आवतजावत निषेध गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि