२७ पुष २०७६, आईतवार १६:४०

प्रदेश नं ३ को नाम र राजधानी छिनोफानो : नाम बागमती, स्थायी राजधानी हेटौंडा


मिडिया क्लब नेपाल, हेटौडा । लामो समयदेखि तोक्न नसकेको प्रदेश नं ३ को राजधानी र राख्न नसकेको नाम आइतबार प्रदेश सभाले टुङ्ग्याएको छ । आइतबार प्रदेशको नाम बागमती र स्थायी राजधानी हेटौँडा रहने प्रस्ताव प्रदेश सभाले पारित गरेको छ ।

राजधानीका विषयमा प्रदेश नं ३ सरकारले गरेको प्रस्तावको पक्षमा १०५ मत खसेको थियो । एक सय १० सदस्य रहेको प्रदेश सभामा सो प्रस्तावको विपक्षमा तीन मत मात्रै खस्यो । त्यस्तै प्रदेशको नाम बागमती राख्न काङ्ग्रेस सांसद इन्द्र बानियाँले राखेको प्रस्तावको पक्षमा १०८ मत खस्यो ।

नाम र राजधानीबारे निर्णय हुन नसकिरहेका बेला सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रदेशको नाम बागमती र राजधानी हेटौँडाका पक्षमा मतदान गर्न नेकपाबाट निर्वाचित सांसदहरूलाई निर्देशन दिएको थियो । पार्टिको निर्देशन नमाने कारवाही गर्ने चेतावनी पार्टिले दिएको खबरहरु पनि बाहिर आएका थिए ।

शुक्रवार नेकपाको संसदीय दलभित्र झन्डै ४० सांसदले प्रादेशिक राजधानीको विषयमा असन्तुष्टि व्यक्त गरेका थिए ।
शनिवार प्रदेशसभाको बैठकमा नेकपाको नेतृत्वमा रहेको प्रदेश सरकारले औपचारिक रूपमा उक्त प्रस्ताव दर्ता गरेको हो ।

नेकपाको बहुमत रहेको उक्त प्रदेशमा ११० सांसदमध्ये ८० जना नेकपाका छन् । प्रदेश नं ३ को राजधानी र नाम सम्बन्धी प्रस्तावमाथि छलफल शनिबार सकिएको थियो ।
प्रदेश राजधानीका लागि मकवानपुरको हेटौँडा र काभ्रेपलाञ्चोकको धुलिखेल प्रस्ताव भएको थियो ।

सातवटा प्रदेशमध्ये हालसम्म कर्णाली, सुदूरपश्चिम, गण्डकी र बागमती प्रदेशले मात्र आफ्नो नाम र राजधानीको टुङ्गो लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि