‘मधेश आन्दोलनका आन्दोलनकारी मारिँदा दुई-चार आँप झरे भन्नुहुन्थ्यो, अहिले त्यै खुवाएर फकाउँदै हुनुहुन्छ ?’

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कुन आधारमा विश्वासको मत दिनुपर्ने हो भनेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् । मधेस आन्दोलन, संघीयता र समावेशिताका विरुद्धमा रहेका प्रधानमन्त्रीलाई किन विश्वास दिने भनेर उनले सोधेका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै अध्यक्ष यादवले मधेस आन्दोलनका क्रममा ओलीले दिएका अधिव्यक्ति स्मरण गराएका थिए । ओलीले विगतमा मधेसलाई युपी बिहारसँग तुलना गरेको, मधेसी आन्दोलनकारी मारिँदा आँप झरेको भनेको र मानव साङ्लोलाई माखे साङ्लो भनेको स्मरण गर्दै यादवले प्रधानमन्त्रीलाई सोधे, ‘अहिले मधेसीलाई फकाउन थाल्नुभएको छ । मधेस आन्दोलनका क्रममा आन्दोलनकारी मारिँदा दुई-चार आँप झरेका हुन् भन्नुहुन्थ्यो के अहिले त्यै आँप खुवाउएर फकाउँहुनुहुन्छ तपाईं ?’
प्रधानमन्त्री ओलीले संघीयता, समावेशिताविरुद्धमा काम गरेको यादवको भनाइ थियो । उनले प्रदेशहरूलाई संघीय सरकारका प्रशासनिक इकाई भनेर, संघीय लोकतन्त्रिक गणतन्त्र नेपाल लेख्ने क्रम अन्त्य गरेर र विभिन्न नियुक्तिमा समावेशिता नअपनाएकाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसकिने बताए ।
यादवले आफ्ना पक्षका सांसदले विश्वासको मतको विपक्षमा मत दिने र वैकल्पिक सरकार खोज्ने निणर्य भएको बताए ।