५ बैशाख २०७९, सोमबार १४:४४

काठमाडौं – भक्तपुर खण्डको अरनिको राजमार्गको जाम समस्या


काठमाडौँ उपत्यकाको कोटेश्वरमा सवारी साधनको अत्यधिक जामका कारणले भोग्नुपरेका समस्यालाई प्राथमिकतामा राखेर विभिन्न पत्रपत्रिकामा आएका कुराहरूलाई समेटेर केही कुरा राख्ने प्रयास यस लेखमा गरिएको छ । अरनिको राजमार्गमा बनेपा – सिन्धुली – बर्दिबास चल्ने सवारी–साधनहरूले गर्दा कोटेश्वरमा थप जटिलता आएको देखिन्छ । यो लेख विशेषतः अरनिको राजमार्ग भएर काठमाडौँ भित्रिने र बाहिर जाने सवारी–साधनहरूको जामको समस्या र त्यसको समाधानका सम्भावित उपायहरूका बारेमा गर्नुपर्ने छलफललाई सतहमा ल्याउने प्रयास हो ।
भक्तपुरबाट काठमाडौँ जाँदा र आउँदा जामको मुख्य समस्या भनेको समग्रमा परस्पर काटिने ठाउँ ‘इन्टरसेक्सन’ (Intersection) नै हो भन्ने देखिन्छ । त्यसमाथि मौजुदा सडकहरूमा ट्राफिक व्यवस्थापन गर्न राखिएका ट्राफिक बत्तीहरू, ट्राफिक सङ्केतहरू, सडकको मार्किङ जस्ता प्रणालीहरू दुरुस्त अवस्थामा नहुनु पनि अर्को कारण देखिन्छ । गट्ठाघर, कौशलटार, लोकन्थली, जडिबुटी, कोटेश्वर र बानेश्वरका चौबाटाहरूमा जाम हुनु इन्टरसेक्सनकै समस्या हो, सवारी–चालकहरूमा अनुशासनको कमी अर्को कारण देखिन्छ । अरनिको राजमार्गमा ट्रक, टिपर तथा बस जस्ता अधिक भार बहन गरी बिस्तारै गुड्ने सवारी–साधनहरूका लागि छुट्टै बिस्तारै जाने लेन (Slow Lane) को व्यवस्था गर्न सके सवारीको चाप व्यवस्थापन गर्न सजिलो हुनेछ र दुर्घटनामा पनि कमी आउनेछ । यसरी नै हलुका तथा मध्यम भार बहन गर्ने खालका सवारीहरू बीचको लेन (Middle Lane) बाट उछिनेर जाने छुट्टै ओभरटेकिङ लेन (Overtaking Lane) भएको खण्डमा बीचको लेनका सवारी–साधनहरू पनि अनुशासित भएर चल्न बाध्य हुन्थे । ओभरटेकिङ लेनमा सडक ट्राफिकको नियम अनुसार पूर्ण रूपमा यो लेन खुला (Free) राखिन्छ । त्यसले गर्दा एम्बुलेन्स तथा दमकल जस्ता अत्यावश्यक सेवाका सवारी–साधनलाई निर्बाध रूपमा गन्तव्यमा पुग्न सजिलो हुनेछ । यस्ता कुराहरू यस मौजुदा राजमार्गमा भएको भए अहिलेको जस्तो जामको समस्या झेल्नुपर्ने थिएन ।

बिस्तारै जाने लेन (Slow Lane), बीचको लेन (Middle lane) र (Overtaking Lane) सडकको प्रयोग गर्ने नमुना
(फोटो : वेबसाइटबाट साभार)

गट्ठाघर, कौशलटार, लोकन्थली, कोटेश्वर र बानेश्वरको चौबाटा (Junction) हरूमा हालै कलङ्कीमा बनेको अन्डरपास (Underpass) सडकजस्तै बनाउन सकिन्छ । ती चौबाटाहरूको सडकको भौगोलिक स्वरूप (Longitudinal Profile) हेर्दा प्राविधिक रूपमा बनाउन सकिने देखिन्छ । ती चौबाटाहरूमा अन्डरपास बनाउन सकेको खण्डमा काठमाडौँबाट सिधा भक्तपुर र भक्तपुरबाट सिधा काठमाडौँ जाने सवारी–साधनहरू निर्बाध रूपमा सिधै गन्तव्यमा जान सक्छन् र अहिलेका इन्टरसेक्सनहरूमा हुने जाममा धेरै हदसम्म कमी आउन सक्छ । यसले गर्दा चक्रपथबाट आउने र जाने दुवैतर्फका सवारीको चापलाई पनि सहजता हुन्छ ।
अन्डरपास (Underpass) मा फ्लाइओभर (Flyover) को अनुपातमा निर्माण लागत कम हुन्छ र निर्माण गर्न सहज हुन्छ । तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगै भएकाले जडिबुटीजस्तो संवेदनसिल क्षेत्रमा फ्लाईओवर राख्न विशेषरूपमा अध्ययन–अनुसन्धान गरेर मात्र प्रस्ताव गर्नुपर्ने हुन्छ । हुन त फ्लाइओभरबाट जाममा हुने कमी शतप्रतिशत भएको अध्ययनले देखाएको पाइँदैन, तैपनि केही मात्रामा सहज भने हुन्छ । यो प्रविधि खर्चिलो रसमय पनि बढी लिन सक्छ । पत्रपत्रिकामा चर्चामा आएअनुसार सुरुङमार्गलाई पनि विकल्पको लिने गरेका छन् । तर हाम्रोजस्तो देशका लागि यस्ता ठाउँमा सुरुङमार्ग, समय, लागत र सुरक्षाको दृष्टिकोणबाट उपयुक्त नहोला ।

अन्डरपास (Underpass) सडकको नमुना
(फोटो : वेबसाइटबाट साभार)

काठमाडौँ उपत्यकामा सवारी–साधन सङ्ख्या अत्यधिक भएकै देखिन्छ । सानासाना सवारी–साधनहरू बढ्नुमा भरपर्दो सेवामूलक सार्वजनिक यातायातको व्यवस्था राम्रो नहुनु र कोरोनापछिको स्वास्थ्यसुरक्षा मापदण्ड आदिलाई प्रमुख कारकका रूपमा लिन सकिन्छ । काठमाडौँ उपत्यकामा सवारी–साधनको सङ्ख्यालाई नियन्त्रण गर्नु अति आवश्यक देखिन्छ । यसरी नै सवारी–साधनहरूको सङ्ख्या दिनानुदिन बढ्दै जाने हो भने भविष्यमा यो ठूलो समस्या हुनेछ । यस्तो अवस्थामा कतिपय मुलुकहरूमा सवारी–साधनको आयातमा केही वर्षका लागि बन्द गरेको पाइन्छ । थाइल्यान्डको बैङ्कक सहरमा सवारीको चाप घटाउन यस्तै गरेको पाइन्छ ।
सम्बन्धित निकायले सार्वजनिक यातायातका ठूला साधनलाई क्रमिक रूपमा बढावा गर्दै लग्नुपर्दछ । बृहत्तर रूपमा उपत्यकाका सहरहरूलाई दीर्घकालीन योजना बनाई सुरक्षित साइकल लेन बनाई साइकलयात्रीको सङ्ख्या बढाउँदा जाम घटाउन र ध्वनि तथा धूवाँको प्रदूषणबाट धेरै राहत मिल्ने अपेक्षा गर्न सकिन्छ । काठमाडौँ उपत्यकामा मानिसको जनघनत्वको चाप घटाउन राजधानी अन्यत्र सार्ने एउटा विकल्प पनि हुन सक्छ ।
निचोडमा काठमाडौँ उपत्यकाको जामको समस्या हटाउन ट्राफिक प्रणाली सम्बन्धी सम्बन्धित विज्ञहरूको टोलीबाट विस्तृत प्राविधिक अध्ययन गराएर समाधानका ठोस उपायहरू निकाल्नु उपयुक्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि